नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा 'नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' हुने भएको छ। महोत्सव यही मंसिर ६ देखि ९ सम्म भर्चुअल रुपमा आयोजना हुनेछ।
स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म गरी महोत्सवमा २४ देशका ४२ वटा चलचित्र प्रदर्शन हुने आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु छनोट गरिएको हो।
महोत्सवमा चलचित्र देखाएपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, मानव अधिकारमा कोडिभ–१९ को प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिकालगायत विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवा समूहलगायतसँग अन्तर्क्रिया गरिनेछ।
‘ओटीटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने?' बारे मास्टरक्लासको पनि आयोजना गरिने छ।
महोत्सवमा अन्तर्राष्ट्रिय बिधाका चलचित्रहरुको प्रदर्शनमात्र र नेपाली विधाका चलचित्रहरुको प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्सन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरी पुरस्कार घोषणा गरिनेछ। महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लुना रञ्जित निर्णायक मण्डलको भूमिका निर्वाह गर्ने छन्।
महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानडा राजदुतावास रहने छ। महोत्सवका लागि युरोपियन युनियन, आइओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसको सहयोग रहने छ।
त्यस्तै महोत्सव प्रवर्धनका लागि चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सञ्जाललगायतको सहकार्य र दर्जनौं संघसंस्थाको एेक्यवद्धतामा महोत्सवको आयोजना हुन लागेको हो।
महोत्सवका चलचित्रहरु अनलाइन वेबसाइट मुभी डटकम (9nhriff.muvi.com) लग इन गरेर हेर्न सकिने छ।
महोत्सव सुरुभएको दिनदेखि अर्काे दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने छ।