प्रदेश १ सुन्दरहरैंचा नगरपालिका (मोरङ) ले शिल्पी थिएटरलाई पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ। बुधबार नगरपालिका प्रतिनिधिले जग्गा प्रदान गरेको हस्ताक्षरसहितको सम्झौता पत्र शिल्पी थिएटरका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
नगर प्रमुख शिवप्रसाद ढकाल र प्रशासकीय अधिकृत विनोद प्रसाद भट्टराई र शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजले आआफ्नो पक्षबाट सम्झौता पत्र हस्ताक्षर गरेका हुन्।
मोरङबाट शिल्पी थिएटरका निर्देशक घिमिरेले भने, 'भर्खरै सम्झौता भएको कागज पाएका हौं। एकदमै उत्साहित छौं। रंगमञ्च र कला नगरपालिकाले इनिसिएटिभ लिनु उदाहरणीय काम हो।'
नगरसभाले पारित गरेर शिल्पी थिएटरलाई उपलब्ध गराएको यो जग्गामा २५० सिट क्षमता भएको नाटक घर र ५०० सिट क्षमता भएको 'ओपन एयर' थिएटर बनाइने निर्देशक घिमिरेले बताए।
‘यसमा प्रदेश सरकार र संस्कृति मन्त्रालयको सहयोग हुन्छ र काम एक वर्षभित्रमा सम्पन्न हुन्छ,’ उनले भने।
उनले यसलाई राज्य संघीयतामा गएको उदाहरण मान्न सकिने बताए।
‘पहिला केन्द्रीय सरकारको मुख ताक्नुपर्थ्यो। अहिले स्थानीय स्तरमा आफ्नो समुदायलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने अभ्यास हो,’ उनले भने।
सांस्कृतिक रूपमा स्थानीय सरकारको निर्णय चल्दा बहुभाषिक, बहुसाँस्कृतिक कुराले प्राथमिकता पाउने उनको भनाइ छ। यसले राजधानीजस्तै देशका अन्य ठाउँको पनि आफ्नो अस्तित्व स्थापना गर्ने आधार बलियो बनाउँछ।
‘मोरङमा नाटकघर बन्नु भनेको स्थानीय सरकारको सहयोगमा यहाँको भाषा, संस्कृति र आफ्नो अस्तित्वलाई सम्मान गरिनु हो। यसले यहाँका आममानिसमा रंगमञ्च र कला–संस्कृतिप्रति अपनत्व जगाउने छ,’ घिमिरेले भने।
सुन्दरहरैंचा नगरपालिकाको यो निर्णयबाट अन्य नगरपालिकालाई पनि प्रेरित गर्ने निर्देशक घिमिरेको विश्वास छ।