निर्माता, निर्देशक तथा गीतकार केदार शर्मालाई बलिउडमा राज कपुर, भारत भूषण, मधुवाला, माला सिन्हा तथा तनुजालाई स्टार बनाउने फिल्मकारका रूपमा सम्झना गरिन्छ। भनिन्छ यी कडा र तीक्ष्ण निर्देशकबाट चार आना पाउन ठूला ठूला मान्छेले आश गरिरहन्थे।
यिनको पूरा नाम केदार नाथ शर्मा हो। उनी सिनेमामा आउँदाको कथा एकदमै रोचक छ। यसको खुलासा उनले एक अन्तरवार्तामा गरेका छन्। संयोगवश हेरिएको एक सिनेमाले गर्दा उनी सिनेमामा आए र बलिउडका लागि अविस्मरणिय सुपरस्टार्सहरू दिए। सन् १९३३ मा देवकी बोस निर्देशित ‘पुराण भगत’ हेरेपछि उनले सिनेमामा आफूलाई हराउने निर्णय गरेका थिए।
भनिन्छ सो सिनेमा हेरेपछि उनी हर समय सिनेमामा काम गर्ने सपना देख्दथे। त्यसपछि आफ्नो सपना पूरा गर्न उनी कोलकाता गए। त्यतिखेर सिनेमा निर्माणको ठूलो केन्द्र कोलकाता थियो।
शोम्यान राज कपुरलाई बलिउड ल्याउने श्रेय उनैलाई जान्छ। सन् १९४७ मा ‘निल कमल’ सिनेमाबाट राज कपुरलाई उनले डेब्यू गराएका थिए। सो सिनेमामा डेब्यू गर्नुअघि राज कपुर ‘क्ल्याप व्वाई’का रूपमा केदार शर्मासँग काम गर्थे। यसैगरी सन् १९५० मा ‘बावरे नैन’ सिनेमामा केदारनाथले गीता बालीलाई डेब्यू गराए।
उनको बारेमा एउटा कुरा एकदमै चर्चित छ। जब उनी कुनै कलाकारको कामबाट खुशी हुन्थे तब पितलबाट बनेका दुई आना र चार आनाका सिक्का दिदैं कलाकारको हौसला बढाउँथे। यो सिक्का पाउने थोरै भाग्यमानीमा थिए, राज कपुर, दिलिप कुमार, गीता बाली तथा नरगिस। उनको हातबाट जसले यी सिक्का पाए ती सबै सुपरस्टार हुन्थे भनिन्थ्यो।
त्यस्तै कामको मामिलामा उनी उस्तै कडा थिए। काममा लापरवाही गर्नेलाई झापड लगाउन पनि पछि पर्दैनथिए। उनले राज कपुरदेखि अभिनेत्री तनुजासम्मलाई झापड लगाएका छन्। संयोग हो या अन्य केहि उनीबाट चार आना पाउने र झापड भेट्ने सबै पछि सुपरस्टार भए।
केदार शर्माले ‘इंकलाब”, ‘पुजारिन’, ‘विदयापति’ तथा ‘बढी दिदी’ जस्ता गतिला सिनेमा बलिउडलाई दिएका छन्। यसका अलावा बच्चाहरूका लागि कयौं सिनेमा बनाएका छन्। ‘जयदीप’, ‘गंगाकी लहरें’, ‘गुलाब का फूल’ जस्ता सिनेमाम यसमा पर्छन्। लगभग सिनेमाबाट उनले पाँच दशक दर्शकको मन जिते। उनको निधन सन् २९ अप्रिल १९९९ मा भएको थियो।