सहिद परिवार
सुवासकुमार बोहरा प्रायः बिहान छिट्टै उठ्थे। उठेर खाना–खाजा बनाएर भाइलाई ९ बजे स्कुल पठाइदिन्थे।
अपराह्न भाइ आउने बेलामा खाजा बनाएर राख्थे। भाइ स्कुलबाट आएपछि सँगै बसेर खान्थे। उनका भाइ सन्दीप तीनकुनेस्थित एक स्कुलमा कक्षा–९ मा पढ्छन्।
२३ वर्षीय सुवासको दैनिकी एक वर्षदेखि यसरी नै चलिरहेको थियो।
भदौ २३ गते पनि उनले आफ्नो दैनिकी पूरा गरे। दाजुभाइ सँगै बसेर खाना खाए।
'स्कुल जान लाग्दा दाइले म दिउँसो हुन्नँ, आएर खाजा खानु है भन्नुभएको थियो,' सुवासका भनाइ उद्धृत गर्दै सन्दीपले भने, 'किन नि भनेर सोध्दा काम छ भन्नुभयो।'
सन्दीप स्कुल गएपछि उनीहरूबीच कुराकानी भएको थिएन। फर्किएर आउँदा दाइ आन्दोलनमा गएको थाहा पाएको सन्दीपले बताए।
भदौ २३ गते जेनजी आन्दोलनमा गएका सुवास अपराह्न तीन बजेसम्म पनि फर्केर आएनन्।
सन्दीप दाजुले भने अनुसार बिहानको खाना खाएर बसिरहेका थिए।
'कोठा नजिकै एक जना दाइले जेनजी आन्दोलन क्रममा दाइलाई गोली लागेको छ भनेर सुनाउनुभयो,' उनले भने, 'त्यसपछि एकछिन बेहोस जस्तै भए।'
साथमा कोही आफन्त पनि थिएनन्। त्यसैले उनले सुरूमा आमालाई फोन गरेर सुनाए।
'आमालाई कसरी र के के भनेँ भन्ने याद छैन,' उनले भने, 'त्यसपछि काठमाडौंमा रहेका आफन्तहरूलाई जानकारी गराएँ।'
उनीहरूकी आमा कैलीदेवी रोजगारीका लागि भारतमा थिइन्। सन्दीप र सुवास भने सिनामंगलस्थित डेरामा बस्दै आएका थिए।
दाजुभाइ एक वर्षदेखि मात्र काठमाडौंमा डेरा गरेर सँगै बस्न थालेका हुन्। एक वर्षअघिसम्म गाउँमै थिए।
सुवास भने झन्डै दुई वर्षअघि काठमाडौं आएका थिए।
उनीहरू केही समय अघिसम्म कीर्तिपुरमा आफन्तकहाँ बस्थे। सन्दीपको स्कुल तीनकुनेमा भएकाले सिनामंगल सरेका हुन्। बझाङ खप्तडछन्ना गाउँपालिका–४ घर भएका सुवास उज्ज्वल भविष्यको सपना बोकेर काठमाडौं आएका थिए।
उनले कक्षा–१० सम्म गाउँमै पढेका हुन्। प्लस–टू भने धनगढीको कैलाली बहुमुखी क्याम्पसबाट गरे। त्यसपछि एलएलबी पढ्ने सपना बोकेर उनी काठमाडौं आएका थिए। पछि एलएलबी छाडेर जापानी भाषा पढ्न थालेको सुवासकी आमा कैलीदेवीले बताइन्।
'जापानी भाषा पढेर भिसा पनि आएको थियो। तर समयमा पैसा बुझाउन नपाउँदा जान पाएको थिएन। पैसा भएको भए आन्दोलनअघि नै जापान गइसक्थ्यो,' कैलीदेवीले भनिन्, 'अहिले त संसारबाटै गयो।'
सुवासले पैसा जुटाउन हरप्रयास गरे तर सकेनन्। कैलीदेवीले पनि पैसा जम्मा गर्न कोसिस गरिन् तर सकिनन्। उनी आफै पनि बिरामी भइरहन्थिन्। उपचार र दुई–चार पैसा कमाउने सोचेर उनी भारत गएकी थिइन्।
उनका श्रीमान लामो समयदेखि परिवारको सम्पर्कमा छैनन्। त्यही कारण हरेक कामको जिम्मेवारी सुवासकै काँधमा थियो।
'म पनि बिरामी भइरहन्छु। त्यसैले दुई–चार पैसा कमाएर उपचार गर्न र छोराहरूलाई पढाउन भारत पसेँ,' उनले भनिन्, 'अहिले न पैसा कमाउन सकेँ न छोरा बचेको छ।'
भदौ २३ गते साँझ कैलीदेवी भारतको बैंगलुरूमा अरूको घरमा काम गरिरहेकी थिइन्।
'छोरालाई गोली लागेकोसुन्दा त म छाँगाबाट खसेजस्तो भएँ,' उनले भनिन्, 'कसरी छोरा भएको ठाउँमा जाने भन्ने मात्र ध्यान भयो।'
सुवाससँग उनको अघिल्लो दिन अर्थात् भदौ २२ गते कुराकानी भएको थियो। त्यही नै उनीहरूको अन्तिम कुराकानी बन्यो।
कैलीदेवीले त्यहाँ भएका नेपालीहरूसँग सहयोग मागिन्। तर नेपाली नागरिकताको फोटोकपी मात्र भएकाले हवाई मार्गबाट आउन समस्या भयो। उनी विमानस्थलमै रोएपछि दोस्रो दिन त्यहाँस्थित नेपाली दूतावास पुगिन्। भारतमा भएका नेपालीहरूले सहयोग गरेपछि उनी काठमाडौं आइपुगिन्।
सुवासलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको थियो। उनी सिधै छोरा भेट्न गइन्।
छोरालाई हेर्न सक्ने हिम्मत जुटाउनै गाह्रो थियो।
'पहिला श्रीमानले छाडेर जानुभयो। अहिले छोरा पनि छैन,' उनले भनिन्, 'घरको खम्बा गोली हानेर ढालिदिनुभयो, अब हामी कसरी बाँच्नु सरकार?'
उनले थपिन्, 'बुढेसकालको सहारा नै खोसियो। अहिले हालखबर सोध्नसमेत सरकारको कोही आएको छैन।'
उनी सुवासको मृत्युपछि सन्दीपसँग डेरामा बसिरहेकी छन्। दिनभर कोठामा बस्दा जेठो छोरा कतैबाट आइहाल्दिए हुन्थ्यो भन्ने सोचिरहन्छिन्। तर उनको त्यो सोच कल्पना मात्र हुन्छ।
उनी कान्छो छोरालाई अब कसरी राख्ने, पढाउने, के गर्ने भन्ने चिन्तामा छिन्।
'कान्छो छोरा पढिरहेकै स्कुलमा कक्षा–१२ सम्म पढाइदिन्छु भनेर एक जनाले भन्नुभएको छ,' उनले भनिन्, 'काठमाडौंमा अरू धेरै खर्च हुन्छ। कसरी पुर्याउने भन्ने पिर छ।'
उनी जेनजी सहिद परिवार संघर्ष समितिको कार्यक्रममा पनि गएकी छैनन्। त्यहाँ पनि छोराकै बारेमा सोधिन्छ र सम्झियो भने मन भारी हुन्छ भनेर नगएको उनले बताइन्।
'अब यो कान्छो छोरालाई राम्ररी पढ्ने र बाँच्ने आधार दिइओस्,' कैलीदेवीले भनिन्।