सहिद परिवार
साजन राई भदौ २३ गते मजदुरी गर्न गएका थिए। साँझपख उनलाई दिनभरको आन्दोलन र घटनाबारे थाहा भयो।
प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भइसकेको खबर उनले सामाजिक सञ्जालबाट पाए। त्यसपछि ४२ वर्षीय साजन चुपचाप बसिरहन सकेनन्।
'बच्चाहरूलाई यसरी गोली हान्नु हुँदैन थियो। सरकारले दमन गर्यो,' साजनका भनाइ उद्धृत गर्दै उनका भतिज भरत राईले भने, 'सरकारले यसरी ज्यान लिन हुँदैन थियो भनेर साँझ गुनासो गर्नुभएको थियो।'
भरत साजनका माइला दाजुका छोरा हुन्।
भदौ २३ गते साँझ भरत साजनकै कोठामा पुगेका थिए। उनीहरूबीच दिनभर भएको जेनजी आन्दोलनबारे कुराकानी भएको थियो।
'मान्छे मारिएका भिडिओहरू देखेपछि सरकारको दमनबारे काका आक्रोशित हुनुहुन्थ्यो,' भरतले भने, 'भदौ २४ गते बिहानभरि पनि हामी सँगै थियौं। छोराहरूलाई खाना खुवाएर बसिरहनुभएको थियो। पछि साथीहरूसँग आन्दोलनमा जानुभएछ।'
साजन आफ्ना १२ वर्षीय र ६ वर्षीय दुई छोरासँग भक्तपुरमा डेरा गरी बस्थे।
उनकी श्रीमतीको २२ महिनाअघि मात्र मृत्यु भएको थियो। श्रीमतीको मृत्युपछि छोराहरूको हेरचाह साजनले एक्लै गरिरहेका थिए।
भदौ २४ गते दिउँसो साजन ठिमीमा भएको प्रदर्शनमा सहभागी भए। त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। प्रहरीको गोली लागेर साजनले ज्यान गुमाएको भरतले बताए।
'काकालाई छातीमा गोली लागेको थियो,' उनले भने, 'दिउँसो १ बजेतिर आन्दोलनमा जानुभएको थियो, साढे ३ बजेतिर गोली लाग्यो भन्ने खबर आयो।'
साजनलाई अरू प्रदर्शनकारीहरूले भक्तपुरकै नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल पुर्याएका थिए। त्यहाँ पुग्दा मृत्यु भइसकेको चिकित्सकहरूले बताएको भरत सम्झिन्छन्।
साजनको शव एक सातापछि धरान लगेर अन्त्येष्टि गरेको भरतले बताए।
साजनको घर सुनसरीको धरान उपमहानगरपालिका–५ हो। उनीहरू संखुवासभाबाट धरान झरेका हुन्।
एक दशकअघि साजन श्रीमती सुनिता थेबेसँग काठमाडौं भित्रिएका थिए।
गाउँमा सामान्य लेखपढ गरेका साजन घर बनाउने काम गर्थे। उनकी श्रीमतीको मृत्युपछि पनि जिम्मेवारी थपिएको थियो।
'काका दिनरात नभनी काम गरिरहनुभएको थियो,' भरतले भने, 'छोराहरू हुर्किँदै छन्। उनीहरूको आवश्यकता बढिरहेको छ। त्यसैले सकेजति काम गर्नुछ भन्नुहुन्थ्यो।'
साजनले छोराहरूलाई डेरा नजिकैको सामुदायिक स्कुलमा भर्ना गराएका थिए। उनीहरूलाई खाना खुवाएर स्कुल पठाएपछि उनी काममा निस्किन्थे।
भदौ २४ गते पनि उनी आफ्नो बिहानको काम सकेर निस्किएका थिए। त्यस दिन स्कुल बन्द थियो। छोराहरू कोठामै थिए।
'छोराहरूलाई छाडेर आन्दोलनमा नगएको भए हुन्थ्यो। काकाले आफू सँगै दुई सन्तानको भविष्य पनि लगेर जानुभयो,' भरतले भने, 'हामी छौं तर आमाबुबा जस्तो त अरू कोही हुन सक्दैन।'
साजनको मृत्युपछि उनका दुई छोराको हेरचाह भरतले गरिरहेका छन्। व्यापारिक घराना गोल्यान समूहले उनीहरूलाई हुर्काइदिने, पढाइदिने प्रतिबद्धता गरेको छ।
'मेरा पनि दुई सन्तान छन्। चार जनालाई हुर्काउन गाह्रो हुने भएकाले गोल्यान समूहले पढाइदिने भन्दा सहमत भएँ,' भरतले भने, 'मैले अभिभावकको भूमिका निर्वाह गरिरहेको छु।'
***