जंगलभित्रको कथा: अध्याय ८
घरको पिल्लरमा बाँधिएको सेतो कुकुर ज्यान तन्काउँदै कराउन थाल्यो।
'चुप लाग न एकछिन, म यहाँ कुरा गर्दैछु के!' ७९ वर्षीय रामप्रित यादव कुकुरतिर फर्किएर झर्के।
कुकुर के मान्थ्यो! अझै तन्की तन्की कराउन थाल्यो।
रामप्रितले कुकुर फुकाइदिए।
ऊ दौडिएर म भएको ठाउँमा आयो। हामी दुवैलाई पालैपालो सुम्सुम्यायो। अनि उनको आडमा गएर थुपुक्क बस्यो।
'यो यस्तै छ हजुर। जनावर हो, तर मान्छेको धेरै कुरा बुझ्छ,' उनी यति भन्दै जुरूक्क उठे र हाम्रो छेउमा रहेको रूखसँगैको खाल्डोतिर औंला देखाए।
त्यहाँ एउटा कछुवा रहेछ। ऊ खाल्डोबाट माथि उक्लिन खोज्दै थियो। तर आधा उक्लिएपछि भुइँमा पछारिइहाल्थ्यो।
रामप्रितले केही महिनाअघि आफ्नो घरनजिकै खेतबाट यो कछुवा उद्धार गरेर ल्याएका रहेछन्। उनीसँग अर्को कछुवा पनि थियो। तीन वर्षअघि बरण्डाभार जंगलनजिकै अलपत्र अवस्थामा देखेपछि एक जना साथीले ल्याइदिएका थिए त्यो कछुवा। दुई कछुवा मज्जाले खेल्थे। छिमेकी केटाकेटी उनीहरू खेलेको हेरेर रमाउँथे। चित्र र भिडिओमा मात्रै देखेको जीव आँखाले देख्न पाउँदा उनीहरू फरूंग हुन्थे।
एकदिन पानी परिरहेका बेला त्यो कछुवा भागेर अर्काको घर पुगेछ। सुरूमा त के आयो भनेर मान्छेहरू डराएछन्। पछि कछुवाधनी खोज्दै रामप्रितकै आँगनमा ल्याइदिएछन्।
त्यो कछुवा दोस्रोचोटि पनि भाग्यो। त्यति बेला पनि मान्छेहरूले फिर्ता ल्याइदिए। तर पाँच महिनाअघि हराएपछि फर्किएर आएन। त्यतिखेर रामप्रित काठमाडौं गएका थिए। फर्किएर आउँदा एउटा कछुवा मात्रै थियो। अझै पनि उनलाई अर्को कछुवा फर्किएर आउँछ कि जस्तो लाग्छ।
'तपाईंले कछुवा र खरायोको कथा सुन्नुभएको छ नि! मेरो कछुवा पनि त्यसरी नै धेरै पर पुगेछ कि! कसैको आँखा पो लाग्यो कि!' यति भनेर उनी मौन बसे।
एकछिनको मौनपछि मलाई आफ्नो आँगनमा रहेका रूखहरू चिनाउन थाले।
उनको आँगनमा क्यामुना, सिमल, किम्बु, बकैना, अम्बा, सितल चिनी, मेवा, लिची, एबोकाडो, केरा, सरिफा, विजय साल, आँप, कोइरालो, निम, कदम, बेली चमेलीको बोट र धेरै किसिमका फूलका बिरूवा छन्। क्यामुनाको टुप्पोतिर ढोडे गोकुल (ग्रेटर कुकल) चराले गुँड लगाएको छ। जुरेली, मैना, चिबे, भद्राई लगायत धेरै चरा आँगन वरिपरि भेटिन्छन्। पहिले यहाँ १७-१८ वटा चराका गुँड थिए। किम्बु फल्ने बेला त डांग्रेको मेला लागेजस्तो हुन्थ्यो। आँगनबाटै ठेउवा चरा देखिन्थ्यो, अचेल देखिन छाडेका छन्। भँगेरा पनि कम देखिन्छन्।
रामप्रित यादवले आफ्नो घरमा पालेको कछुवा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
रामप्रित यादव चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत हुन्।
उनी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालभन्दा करिब तीन सय मिटर दक्षिणतर्फको यो ठाउँमा बस्न थालेको २३ वर्ष भयो। सिरहाको आफ्नो जन्मस्थल छाडेर चितवन सरेका रामप्रितसँग हामी उनको जंगल अनुभवबारे कुरा गर्दै थियौं।
रामप्रितले यहाँ घर बनाउँदा वरपर कुनै घर थिएनन्। हिले बाटो थियो। ठूला रूख कम थिए, तर झाडीले जंगलभित्रै बसेजस्तो आभास दिन्थ्यो। वन बिरालो, स्याल, फ्याउरा कराउँथे। मुसा खोज्ने सर्पहरू आँगनमै आउँथे। चरा त कति हो कति! कहिलेकाहीँ त विदेशी घुमन्ते चरा पनि आँगनमै आइपुग्थे।
हेर्दाहेर्दै वरपर घरहरू बन्न थाले। कालोपत्रे सडक बन्यो। र, झाडी सहरमा परिणत भयो।
'अब त यहाँ एक टुक्रा घडेरी बाँकी छैन। पूरै घरैघरले ढाकिएका छन्। स्याल, फ्याउराहरू आउँदैनन्। सर्प देखिनै छाडे। रूखै नभएपछि चराहरू पनि किन आउँथे र!' यादवले भने, 'धन्न मैले यति जोगाउन सकेको छु। थोरै भए पनि आँगनमै देख्न पाएको छु।'
उनी २०२७ सालमा चितवन राष्ट्रिय निकुञ्ज बनाउन रेकी गर्ने समूहसँग पहिलोपटक यहाँ आएका थिए। त्यतिखेर राप्ती नजिकै (हालको सौराहा) जंगलबीच मल्लु महतोको इँटाको सानो घर थियो। रामकाजी श्रेष्ठको चिया पसल थियो। राप्तीपारि पदमपुरका मान्छे आवतजावत गर्दा रामकाजीको पसलमा चिया खान्थे।
२०३० सालमा राप्तीदेखि दक्षिणतर्फको भूभाग समेटेर निकुञ्ज निर्माण गरियो। त्यसपछिका केही वर्षसम्म पनि सौराहामा निकै कम घर थिए।
त्यो बेला रामप्रितले चार हजार रूपैयाँ बिघामा जमिन पाउँदा पनि किनेनन्। जागिर खान आएको मान्छे कुन दिन कहाँ पुगिन्छ भन्ने उनलाई लागेछ। त्यसमाथि यो ठाउँमा राप्तीको बाढी र जनावरको डर उल्कै थियो। भारतको आसामबाट नेपाल छिरेका जंगली हात्ती आफ्नो पुर्खाले हिँडेको बाटो पछ्याउँदै चुरे छेउछेउको चितवन आएर बर्दिया हुँदै शुक्लाफाँटासम्म पुग्थे। अनि उही बाटो फर्किन्थे। यसबाहेक अन्य जंगली जनावरको पनि बिगबिगी नै थियो।
समयक्रममा हेर्दाहेर्दै सौराहा सहर बन्यो। अहिले यहाँ सयभन्दा बढी होटल छन्। अरू व्यवसाय त कति छन् कति!
सौराहा मात्र होइन, राप्ती नदी किनार सर्लक्कै होटलहरूले भरिँदैछ। त्यहाँको होहल्लाले वन्यजन्तु परपर सर्दै छन्। कहिलेकाहीँ खानाको खोजीमा वा बरालिँदै नदी तर्छन्। त्यो बेला मान्छेसँग उनीहरूको द्वन्द्व हुन्छ।
'जनावरको बासस्थान अतिक्रमण गरेर मान्छेले आफ्नो बस्ती बसाले,' रामप्रितले भने, 'उनीहरू आज पनि आफ्नो बासस्थान खोज्दै हाम्रो बस्तीमा आउँछन्। हामी उनीहरूलाई धपाउन खोज्छौं। हामी आफ्नो बस्तीमा जनावरको आतंक देख्छौं, उनीहरू हामीलाई अतिक्रमणकारी देख्छन्! हेराइको फरक हो, बुझाइको फरक हो।'
उनी केही समयअघि घुम्दै घुम्दै घडगाईं क्षेत्रको राप्ती नदी किनार पुगेका थिए। त्यहाँको परिवर्तन देखेर उनी चकित खाए।
पहिले त्यहाँ बोटे समुदायको मात्रै बसोबास थियो। अहिले ठुल्ठूला होटल भरिएका छन्। पहिले उनी हिँडेको बाटोमा नदीको पानी रोक्न ढुंगाका पर्खाल लगाइएका छन् र त्यसको आडमा मचान ठड्याइएका छन्।
'ओ माई गड! घडगाईंदेखि जगतपुरसम्म खोलाछेउको जम्मै जमिन बाहिरकाले किनिसकेछन्, अनि त्यहाँका बोटे विस्थापित भएछन्। अब त एक्कादुक्का मात्र होलान्, त्यो पनि कुनाकाप्चातिर,' उनले भने, 'देशका मन्त्री, प्रधानमन्त्रीहरू त्यहाँ आएर बस्दा रहेछन्। उनीहरू त कस्तो गज्जबको ठाउँ भनेर मख्ख पर्दा हुन्! तर त्यो ठाउँ बोटेहरूलाई विस्थापित गरेर बसेको हो भन्ने कसैलाई हेक्का छैन।'
उनले यसो भन्दाभन्दै हाम्रो आडैमा रहेको क्यामुनाको बोटबाट हुप... हुप... हुप... आवाज आयो।
रामप्रित बोल्दाबोल्दै टक्क अडिएर माथि चरातिर हेर्न थाले।
'यो ढोडे गोकुल त किसानलाई असाध्यै राम्रो गर्ने चरा हो नि!' उनले भने, 'यसको ठुँड विशेष प्रकारको हुन्छ। त्यसले तरकारीमा भएको शंखेकिराको शंख नै फुटालिदिन्छ। उसको आगमनसँगै हाम्रो बारीमा शंखेकिराको समस्या समाधान भइहाल्यो। आँगनमा दुई-चारवटा रूख भयो भने यस्तो फाइदा हुन्छ!'
रामप्रितको जंगल मोह सानैदेखिकै हो। सिरहाको तनुवापट्टी भन्ने ठाउँमा जन्मिएका उनी जंगलको वातावरणबीच हुर्किएका थिए। चुरे छेउको जब्दा जंगल नजिकै जयपुरमा उनीहरूको ३० बिघा जमिन थियो। परिवारले सयौं गाई पालेका थिए।
'मेरो काकाले जब्दा जंगलमा पाटेबाघ देख्नुभएको थियो। मैले चाहिँ त्यहाँ हुञ्जेल बाघ देख्ने अवसर कहिल्यै पाइनँ। बरू बँदेलले बाली खाइदिएको मलाई राम्रैसँग याद छ,' उनले अनुहार बिगार्दै भने, 'पूर्व-पश्चिम राजमार्ग बनेसँगै असापास बस्ती र सहर विकास भएपछि जंगल विनाश भयो। वन्यजन्तु लोप हुँदै गए। अचेल त त्यहाँ दुईखुट्टे बाघ मात्रै भेटिन्छन्। हुँदाहुँदा यो विनाशलीला चुरिया डाँडामा समेत पसिसक्यो। चुरिया पनि नांगो पारेर छाडिसके। हाम्रा नेता र मन्त्रीहरूलाई यसबारे चिन्तै छैन। चुरिया मासिँदा सारा तराई सुख्खा भएको मतलबै छैन।'
'बरू बेलैमा निकुञ्ज स्थापना गरिएकाले केही मात्रामा भए पनि जैविक विविधता संरक्षण भएको छ। यहाँको बाघ, गैंडा, घडियाल गोही हेर्न विदेशीहरू आउँछन्। विश्वको सम्पत्ति भनेर गर्व गर्छन्,' उनले अगाडि भने, 'नेपालीहरूलाई भने यो पनि घाँडो हुन थालेको छ। सबैको ध्यान यहाँका गिटी, ढुंगा, बालुवा र रूखहरूमाथि छ। विश्वमै दुर्लभ वन्यजन्तु जोगाउन कम्मर कसेर लाग्नुपर्नेमा त्यसमाथि अधिकार कसको भनेर संघ, प्रदेश र स्थानीय तह लडिरहेका छन्। कुरा सुन्दा पनि दिक्दार लाग्छ। एक्लै भए पनि भिड्न जाउँ जस्तो हुन्छ।'
आफ्नो घरमा लगाइएका फूल-बिरूवा देखाउँदै रामप्रित यादव। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
हुन त प्रकृतिमाथिको दोहन धेरै पहिलेबाट हुँदै आएको हो। विगतमा राणा र राजाहरूले कसरी प्रकृतिको दोहन गरे भनेर हामीले यही शृंखलाका अघिल्ला अध्यायमा लेखिसकेका छौं। त्यसै क्रममा यादवले आफू चिफ वार्डेन हुँदाको एउटा प्रसंग सुनाए —
यो २०४६ सालअघिको कुरा हो। एक जना मन्त्री चितवन निकुञ्ज घुम्न आएका थिए। जंगलमा सुकेका र ढलेका रूख प्रशस्त देखेपछि उनले यादवसहित अन्य कर्मचारीलाई आदेश दिए, 'यत्रा रूख छन्, काटेर जनतालाई बाँड्नुपर्यो। राज्यलाई पैसा पनि आउँछ, जनताले राहत पनि पाउँछन्।'
यादवले जबाफ फर्काए, 'हजुर यसलाई यहाँबाट निकाल्न हुँदैन।'
'के रे के रे, किन हुँदैन?' मन्त्रीले कड्किँदै भने।
'हुँदैन नि हजुर,' यादवले अड्डी कसे।
'म मन्त्री हुँ। मैले भनेपछि किन हुँदैन?' मन्त्री झनै कड्किए।
त्यसपछि यादवले केही मिनेट समय मागेर सुकेका, ढलेका रूख र रूखका ठुटाहरूको महत्त्व बुझाए।
उनी बोलिरहे। मन्त्री सुनिरहे।
त्यही महत्त्व हामीलाई पनि बुझाउँदै उनले भने, 'यहाँका सबथोक प्राकृतिक रूपमै रहन दिनुपर्छ। सुकेको रूखमा पनि जीवन हुन्छ। त्यसको टोड्कोमा कतै राजधनेश बस्छ, कतै सुगा बसिरहेको हुन्छ। अब हामीले ती चराको घर भत्काइदिने त! कतै ढलेको रूखमा अजिंगर बसिरहेको हुनसक्छ। ठुटोमा धमिरा बसेको हुनसक्छ।। त्यसलाई भालुले खान्छ। यी सबैमा जीवन हुन्छ। संरक्षणका लागि यी धेरै महत्त्वपूर्ण हुन्छन्।'
उनको कुरा सुनेर हामीले सोध्यौं, 'यो जंगललाई मान्छेले हस्तक्षेप नै नगरेको भए के हुन्थ्यो होला?'
प्रश्न सुनेर रामप्रित निकै उत्साहित भए र पहिलेभन्दा चर्को स्वरमा जबाफ दिन थाले —
'यो चितवन उपत्यका पहिले पूरै जंगल हो। थारू, बोटे, कुमाल यहाँका खास बासिन्दा हुन्। अरू सबै पछि आए। माडीको कुरा गर्ने हो भने पहिले त्यहाँ जम्मा ६ गाउँ थिए। २०१४ सालसम्म पूरै चितवनमा १६ हजार मान्छे थिए रे। अहिले त बढेर लाखौं पुगिसके। त्योभन्दा अगाडि लाखौंको संख्यामा रहेका वन्यजन्तु भने मासिने क्रममा छन्।'
'जंगल मासिन्थेन भने अहिले हामी बसेको यो ठाउँमा गैंडा र हरिणहरू चरिरहेका हुन्थे होलान्! परबाट बाघ आएको देखेर हरिणहरू कुलेलाम ठोक्थे होलान्!' उनले अगाडि भने, 'यो ठाउँ पहिले वन्यजन्तुहरूको राज्य थियो। बाघ र गैंडाको राज चल्थ्यो। चितवन उपत्यकामा एक हजार गैंडा घुमिरहेका हुन्थे होलान्। चितवन निकुञ्जलाई अहिले पनि वन्यजन्तुका लागि संसारमै उत्कृष्ट मानिन्छ, झन् त्यति बेला त महाउत्कृष्टै थियो होला। पर्सा पनि हात्तीको घरै हो। जंगबहादुरले त्यहाँ हात्ती समातेको इतिहास नै छ। जंगल नमासिएको भए त्यहाँबाट हात्तीको बथान आनन्दले यात्रा गरिरहेको हुन्थ्यो होला! नारायणीमा डल्फिन र घडियाल खेलिरहेका हुन्थे होलान्! अनेकथरी माछा उफ्रिरहेका हुन्थे होलान्!'
उनका अनुसार अहिले पनि नगरवनतिर एकसिंगे गैंडा भेटिन्छ। पहिले त्यहाँको गैंडा उनको घर नजिकको बाटो हिँडेर वरण्डाभार जंगल छिर्थ्यो। एकदिन बिहान क्यान्सर अस्पताल अगाडिबाट गैंडा हिँड्यो भनेर उनलाई फोन आएछ।
'यो उसको बाबुबाजे हिँडेको बाटो हो। उनीहरूको करिडोर नै यही हो,' उनले भनेछन्, 'हामीले सहर बनाइदिएपछि ऊ अब कताबाट हिँडोस् त!'
रामप्रितले सिमलगैरी भन्ने ठाउँका बारेमा पनि हामीलाई सुनाए। पूरै सिमलको रूख थियो त्यहाँ। गिद्धहरूले गुँड लगाउँथे। अहिले बजार छ। सिमलको नामनिसान छैन।
यति मात्र कहाँ हो र! पिपल चोकमा पिपलको रूख छैन। कटहर चोकमा कटहरको बोट छैन।
'सबै मासेर सके,' रामप्रित निराश सुनिए।
'वन्यजन्तुले के के सोच्छन्, कति सोच्छन् हामीलाई थाहा छैन। यदि सोच्छन् भने अहिलेको अवस्था देखेर बाघ र गैंडाहरू के सोचिरहेका होलान् है?'
हाम्रो यो प्रश्न भुइँमा झर्न नपाउँदै उनले जबाफ दिइहाले, 'हाम्रो बाबुबाजेले दसौं हजार वर्षदेखि आर्जेको राज्य अतिक्रमण गर्न कहाँबाट आए होलान् यी जनावरहरू भनिरहेका होलान्! हामीलाई आफ्नै राज्यबाट बेदखल गर्ने यी जनावरहरू को हुन् भनिरहेका होलान्!'
उनका अनुसार नेपाल, भारत र बंगलादेशका जंगलमा कम्तिमा १६ हजार वर्षदेखि बाघ, गैंडा लगायत जीवजन्तुको अस्तित्त्व रहेको इतिहास छ।
'तपाईंलाई एउटा कुरा भन्छु म,' उनले अगाडि भने, 'मान्छेहरू बाघलाई यसै बदनाम गरिरहेका छन्। बच्चा रोयो भने बाघ आउँछ, बाघले खान्छ भनेर तर्साउने गरिन्छ। बाघको त कामै मान्छे खानेजस्तो न्यारेटिभ बनाइयो। वास्तवमा मान्छे बाघको आहार नै होइन। उसका लागि त छन् नि जनावरहरू – चित्तल छ, जरायो छ, मृग छ। अरू पनि धेरै छन्। बाघ त अतिबलियो, अतिसुन्दर, अतिभद्र, अतिलजालु जनावर पो हो। उसलाई हेर्न भुतुक्कै हुन्छन् मान्छेहरू। विदेशी त हजारौं डलर खर्च गरेर बाघ हेर्न यहाँ आउँछन्। नदेखे आफूलाई 'अनलक्की' भन्छन्। चित्त दुखाउँछन्। उनीहरू बाघ देखेर रमाउँछन्, हामी चाहिँ डराउँछौं। मलाई त बाघ देखेपछि मोहनी लागेजस्तै हुन्छ।'
पूर्ववार्डेन रामप्रितका अनुसार जनावर र मान्छेबीच द्वन्द्व बढ्नुको कारण उनीहरूको बासस्थानमा मान्छेको अतिक्रमण बढेर हो। जंगलभित्र घाँस सुकेको छ, बाहिर पलाइरहेको छ भने उनीहरू स्वत: बाहिर आउँछन्। बस्ती छेउमा खोला छ भने पानी खान आइहाल्छन्। त्यसमाथि बाघ, गैंडा त आक्कलझुक्कल जंगलबाट निस्कने हो, मान्छे त हजारौं संख्यामा दिनहुँ जंगलभित्र गइरहेका छन्। हुँदा हुँदा राप्तीपारि बल्ल बल्ल जोगाइएको निकुञ्जको कोर क्षेत्रमा पनि दबाब बढ्दै गएको उनी बताउँछन्।
जतिसुकै भद्र र लजालु जनावर पनि जब आफूमाथि खतरा आइलागेपछि डराउँछ र त्यही डरमा आफ्नो संरक्षण निम्ति हमला गर्न बाध्य हुन्छ, उनले बाघकै उदाहरण दिँदै भने, 'बाघले मासुको लागि मान्छे मारेको होइन। मासु त मान्छेभन्दा जनावरहरूकै शरीरमा बढी हुन्छ नि। बूढो, रोगी र घाइते बाघले भने आफ्नो सिकार गर्न सक्दैन। सत्रचोटि हमला गर्दा बल्ल बल्ल एउटा सिकार फेला मार्छ। त्यस्तो बेला ऊ आफ्नो आहारको खोजीमा जंगल छेउतिर बस्न थाल्छ। मान्छेको चहलपहल बढी भयो भने उसलाई सजिलो हुन्छ। कुनै बाघले नारायणघाट पुगेर मान्छे खाएको छ र?'
'वास्तवमा बाघले जंगल जोगाउँछ, जंगलले बाघ जोगाउँछ। वन र वन्यजन्तुप्रतिको नकारात्मक धारणा हामीले हटाउनुपर्छ,' उनले भने।
एकपटक उनी चिफ वार्डेन हुँदा एक जना नेता निकुञ्जले भैंसी थुनेको गुनासो लिएर कार्यालय पुगेछन्।
'हाम्रा जनताको भैंसी पस्दा थुन्ने, अनि तपाईंको गैंडाले हाम्रो बाली खाँदा छुन पनि नपाउने?' ती नेताले भनेछन्।
उनले जबाफ दिएछन्, 'तपाईंको भैंसी हेर्न हजारौं डलर तिरेर विदेशी आउँछन्? गैंडा हेर्न त संसारभरका मान्छे आउँछन्। गैंडा त हाम्रो मात्र होइन, विश्वकै साझा सम्पत्ति हो।'
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा। तस्बिर: नारायण महर्जन/सेतोपाटी
ददि सापकोटाले लामो समयदेखि वन्यजन्तुको विषयमा अध्ययन गर्दै आएका छन्। उनी 'पन्छी जगत', 'वनको वैभव', 'जीवगाथा' लगायत किताबका लेखक हुन्। हाल फ्रान्समा रहेका उनीसँग हामीले फेसबुक मेसेन्जरमार्फत् जंगल जीवनबारे कुरा गरेका थियौं।
उनका अनुसार हात्तीलाई दैनिक डेढ सय किलो खाना र डेढ सय लिटरभन्दा बढी पानी चाहिन्छ। भयंकर जुझारू हात्तीलाई त दिनमै अढाई सय लिटर पानी आवश्यक पर्छ। बाघले एक सातामा करिब ४२ किलोमिटर क्षेत्रफलमा चक्कर लगाउँछ। यसरी नै चक्कर लगाएर उसले त्यो क्षेत्र आफ्नो बनाउँछ। हात्ती दिनमा लगभग सय किलोमिटर हिँड्न सक्छ। ४० किलोमिटर त हरेक जंगली हात्ती हरेक दिन हिँड्छ।
जंगली हात्तीका बथान खाना र पानीको खोजी गर्दै लामो यात्रा गर्छन्। विगतमा भारतको काजिरंगा निकुञ्जबाट निस्किएका हात्तीका हुल सुदूरपश्चिम नेपालको शुक्लाफाँटा निकुञ्जसम्म पुग्नुको कारण आहाराकै खोजी हुनसक्ने ददि बताउँछन्। हात्तीसँग पुर्खाले हिँडेको बाटो नबिराइकन हिँड्ने क्षमता हुन्छ।
'कजिरंगाबाट चर्दै चर्दै नेपाल छिर्ने हात्तीहरू कोशी नदीमा पसेर नुहाइधुवाइ गर्थे, रमाइलो गर्थे, आराम गर्थे, केही दिन त्यहीँ भुल्थे,' उनले भने, 'अनि बल्ल जंगलतिर पस्थे र जंगलै जंगल शुक्लाफाँटासम्म पुग्थे।'
अचेल हात्तीको ठूलो बथानले पहिलेजस्तो यो रूटमा यात्रा गर्न छाडेको छ। ठाउँ ठाउँमा जंगल मासेर बनेका ठूला सहर उनीहरूको यात्रामा बाधक बनेका छन्। मानव बस्ती छल्दै भाग्दै अघि बढ्दा कहिलकाहीँ द्वन्द्व हुने गरेको ददि सापकोटा बताउँछन्।
'मानौं जंगली हात्तीले चितवन आएर बच्चा जन्मायो। माउले छाडेर गयो र ऊ यहीँ हुर्कियो भने पनि हजुरआमाले हिँडेको बाटो कतै नबिराइकन पत्ता लगाउने क्षमता ऊसँग भएको अनुसन्धानले पुष्टि गरिसकेको छ। त्यो उसको पुर्खाले हजारौं वर्षदेखि हिँडेको बाटो हो। त्यसैले उसको बसाइ सर्ने अर्को बाटो नै छैन,' उनले भने, 'मान्छेले हात्तीको बाटोमा घर बनाउने, हात्ती आयो भनेर धपाउने र हात्तीले बल प्रयोग गर्यो भने हाम्रो ठाउँमा यस्तो गर्यो भनेर भन्न मिल्छ त?'
वन्यजन्तुको परम्परागत बासस्थान नमासिएको भए मान्छेसँगको द्वन्द्व ०.१ प्रतिशत पनि नहुने उनको दाबी छ।
'जंगल नमासिएको भए अहिले पनि हात्तीहरू निर्वाध रूपमा झापादेखि कञ्चनपुर पुगिरहेका हुन्थे। त्यही बाटो निर्वाध रूपमा फर्किन्थे। बाघहरूले संकुचित भएर बस्नुपर्थेन। जति संख्या थपिए पनि बासस्थानको कमी हुन्थेन,' उनले अगाडि भने, 'कुनै पनि वन नमासिएको भए सबै आफ्नो ठाउँमा भुलिरहेका हुन्थे। वन्यजन्तुलाई आफ्नो आहारा र प्रजननका लागि अन्त जानै पर्थेन। अनि त द्वन्द्व हुने सम्भावनै भएन।'
मान्छेको जोरजबर्जस्तीले जमिनमा हिँड्ने जनावरलाई मात्र होइन, आकाशमा उड्ने चरालाई पनि असर गरिरहेको छ। विश्वमा चराका ११ हजारभन्दा बढी प्रजाति रहेको मानिन्छ। तीमध्ये ८९० भन्दा बढी प्रजाति नेपालमा पाइन्छन्। डेढ सय प्रजाति चरा हिउँदमा जाडो छल्न विभिन्न देशबाट हजारौं माइल यात्रा गरेर नेपाल आउँछन्। तीमध्ये आधा हाँस प्रजातिका हुन्छन्। गर्मी छल्न पनि ५० भन्दा बढी प्रजातिका चरा यहाँ आउँछन्। बसाइ सरेर आउने चराका लागि नेपाल उत्कृष्ट गन्तव्य हो। तर ती चरा अचेल निकै कम संख्यामा देखिन थालेका छन्।
ददि सापकोटा केही महिनाअघि नेपाल आउँदा काठमाडौंको टौदहमा चरा हेर्न गएका थिए। विगतमा यहाँ बसेर धेरै चरा अध्ययन गरेका उनलाई यसपालि टौदहले निरास बनायो।
'चरा नै नदेखेपछि मलाई त रून मन लाग्यो। बेकार गएजस्तो लाग्यो,' उनले भने, 'अचेल त्यहाँ केही देखिँदै देखिँदैन रहेछ। रामसार सूचीमा सूचीकृत चितवनको बीसहजार तालको अवस्था पनि यस्तै छ।'
उनले चितवनका जंगलमा हुलका हुल खरमजुर दौडिएको आफ्नै आँखाले देखेका थिए। भँगेरा त गनिसाध्य थिएनन्। अहिले चितवनको जंगलमा खरमजुर देखिनै छाडेका छन्। भँगेरा त संसारभरि नै घटिसके। पहिले आफ्नै गाउँ रत्ननगरको झुवानीमै कर्याङकुरूङ (लक्ष्मण सारस) को झुन्ड देखेका उनी अहिले कसैलाई यो कुरा सुनाउन पनि धक मान्छन्। नपत्याएर गाली गर्ने हुन् कि भन्ने उनलाई डर लाग्छ।
'टाढाबाट बसाइ सरेर आउने चराहरू धेरै तगडा हुन्छन्। उनीहरू परिवर्तनबाट सचेत हुन्छन्। त्योबाट शिक्षा लिन्छन्। धेरै 'डिस्टर्ब' भयो भने अर्कोपटक नआउन सक्छन्। उनीहरू रसियाबाट ठाउँ ठाउँमा आराम गर्दै, बोसो जोगाउँदै, प्वाँखहरू मिलाउँदै, रोकिँदै आउँछन्। कोही त विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा उचाइबाट पनि नेपाल भित्रिन्छन्,' उनले भने, 'तर आजको रात जहाँ बिताउने भनेर सोचेका हुन्छन्, त्यहाँ मान्छेले घर बनाइदिएको रहेछ वा मान्छेहरू नाचगान गरेर बसेका रहेछन् भने उनीहरू के गर्लान्? उनीहरूलाई अर्को ठाउँसम्म उडेर जान गाह्रो पर्दैन? यस्तो अवस्थामा उनीहरू अर्को वर्ष फेरि नेपाल आउँदैनन्, अर्कै ठाउँ जान्छन्।'
यही कारणले विगतमा नेपालमै रोकिने गरेका धेरै घुमन्ते चरा अहिले सीमा पार गरेर भारततिर जान थालेको चरा विज्ञहरू बताउँछन्।
चराहरूलाई गुलेलीले हानेर, पासोमा पारेर, विष हालेर मार्ने चलन पनि बढ्दो छ। यो मान्छेले उनीहरूमाथि गरेको अपराध हो। यसले चराका प्रजाति र संख्या घट्ने जोखिम बढेको छ।
लामो समयदेखि वन्यजन्तुबारे अध्ययन गर्दै आएका ददि सापकोटा। तस्बिर स्रोत: सापकोटाको फेसबुक
संरक्षित क्षेत्रहरूमा कोलाहल बढेर वन्यजन्तुले सास्ती पाइरहेको अनुभव पनि ददिले सुनाए।
चितवनको उदाहरण दिँदै उनले भने, 'निकुञ्जभित्रै बस्ती छन्। छेउछाउ त पूरै भरिएका छन्। भित्र पनि मान्छे नै मान्छे देखिन्छन्। जताततै गाडी पुग्छ। एक ठाउँमा ठूलो जीव देखियो भने सारा मान्छेको झुन्ड जम्मा हुन्छ। गाडी उसको पछि लाग्छ। बिचरा त्यो जनावरलाई कति दिक्क लाग्दो होला!'
'हामी आफ्नो बासस्थान बढाउने नाममा जनावरको बासस्थान साँघुरो पार्दै छौं। र, आफ्नो मनोरञ्जन र पर्यटनका नाममा त्यही साँघुरो बासस्थानमा पनि उनीहरूलाई चैनसँग बस्न दिइरहेका छैनौं,' उनले भने।
संसारभरि नै जंगल आसपास बस्ने मान्छेहरूले वन्यजन्तुबाट दुःख पाउने गरेका छन्। तर यथार्थ के हो भने, त्योभन्दा बढी दु:ख वन्यजन्तुले मान्छेबाट पाइरहेका छन्।
किनभने,
यो सारा जगत — जंगल थियो
जीव थिए, जनावर थिए
चिँघाड्थे, गर्जन्थे
अनि आए — मानव
एक्लै, दुक्लै
एक्लै, दुक्लै
झुन्डमा।
चलाख थिए, चलाखी गरे
हात हाले, हतियार चलाए
बुद्धिमान थिए, सारा जंगल आफ्नो बनाए
अनि भयो — द्वन्द्व
खेदे
लखेटे
भेदे
दपेटे
भागे
भगाए
काटे
कटाए
शिकारी भए, शिकार गरे
एक्लै, दुक्लै
एक्लै, दुक्लै
झुन्डमा।
आज यो सारा जगत मानवको
सारा जंगल मानवको
जीव–जनावर सबै मानवकै
उसैको इसारामा हात्ती चिँघाड्छ
गर्जने बाघ पनि ऊदेखि तर्सिन्छ
ऊ राज गर्छ यो जगतमा
राज गर्छ जंगलमा
एक्लै, दुक्लै
एक्लै, दुक्लै
झुन्डमा।
'जंगलभित्रको कथा' शृंखलाको पहिलो कडी हामी यहीँ समाप्त गर्दैछौं। यो शृंखलामा हामीले तपाईंहरूलाई जंगलसँग परिचय गरायौं। मानव र जनावरबीच वर्षौंदेखि चल्दै आएको घमासानसँग साक्षात्कार गरायौं।
शृंखलाको अर्को कडीमा मानव र जनावरको सम्बन्धसँग जोडिएका थप स्टोरीहरू लिएर आउने छौं।
***
यो शृंखलामा अहिलेसम्म प्रकाशित स्टोरीहरू: