(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले पढ्न मिल्ने गरी खुला गरेका छौं।)
सहर र मान्छेमा एउटा समानता छ — यी दुवै परिवर्तनशील हुन्छन्।
सहर हिजो जस्तो थियो, आज त्यस्तो हुँदैन। आज जस्तो छ, भोलि पक्कै त्यस्तो रहने छैन। यो परिवर्तनको लहरमा धेरै पुराना कुरा हराएर जान्छन्, धेरै नयाँ कुरा थपिएर आउँछन्।
काठमाडौं सहरमा पनि धेरै नयाँ कुरा थपिएका छन्, धेरै पुराना कुरा हराएका छन्।
सन् १७९३ मा नेपाल आएका बेलायतका कर्क प्याट्रिक काठमाडौं देखेर तीनछक परेका थिए।
त्यति बेला आफूले देखेको काठमाडौंबारे उनले भनेका थिए, 'यहाँ घरभन्दा ज्यादा मन्दिर छन्। मानिसभन्दा ज्यादा भगवान छन्। वर्षमा जति दिन हुन्छन्, तीभन्दा ज्यादा चाडपर्व छन्।'
अहिलेको काठमाडौं हेर्न सम्भव हुँदो हो त उनी फेरि तीनछक पर्थे होलान्। कारण — यहाँ मन्दिरभन्दा ज्यादा घर बनिसके। भगवानभन्दा ज्यादा मानिस भइसके। चाडपर्व कति हराइसके, कति हराउने क्रममा छन्।
यो शृंखलामा हामीले काठमाडौंका यस्ता ठाउँ र यस्ता चिजको खोजी गरेका छौं; जुन समयक्रममा हराएर गए, जसलाई अब हामी देख्न पाउँदैनौं।
वसन्तपुर डबलीमा थियो महाविहार
वसन्तपुरमा जहाँ तपाईं खुला डबली देख्नुहुन्छ, त्यहाँ पहिले ठूलो महाविहार थियो। त्यो महाविहारलाई श्रीखण्ड तरूमुल महाविहार (सिखमु बहाः) भनिन्छ।
तत्कालीन समयमा यो महाविहार पूर्वमा वसन्तपुरको नौतले दरबार, पश्चिममा मरूहिति जाने ओरालोको सेतो चैत्य र दक्षिणमा हालको अट्कोनारायण मन्दिर नजिकै रहेको दहिसाल क्षेत्रसम्म फैलिएको थियो।
यो महाविहार १९९० सालको भुइँचालोमा भत्कियो। तत्कालीन राणा शासकहरूले महाविहार पुनर्निर्माण र जीर्णाद्धार गर्न पहल गरेनन्। अहिले यो महाविहार कुमारी घरसँगैको सानो बहालमा सीमित छ।
नब्बे सालको भुइँचालोले सिखमु बहा:को सम्पूर्ण संरचना भत्काए पनि यसका केही अवशेष अझै वसन्तपुर डबलीमा भेटिन्छन्। कुमारी घर नजिकै वसन्तपुर डबलीमा रहेको इनार त्यही महाविहारको अवशेष हो। यसबाहेक दुइटा कचाबहाः (शाखा) पनि त्यहाँ छन्।
'यो महाविहारको क्षेत्रफल निकै बृहत् थियो भन्ने चैतारियाहरू (तल्लो तहका श्री ३ का सन्तान) ले सर्वोच्च अदालतमा पेस गरेको पुरानो लिखतबाट प्रमाणित हुन्छ,' राजेन्द्रमान बज्राचार्यले 'कान्तिपुरका महाविहार/विहारहरू' किताबमा लेखेका छन्, 'नब्बे सालको महाभूकम्पसम्म पनि यसको अधिकार क्षेत्रभित्र पर्ने हालको वसन्त डबलीमा पाँच कचाबहाः र कुमारी बहाः गरी ६ वटा बहाः (बहाल) थिए।'
महाभूकम्पपछि बहाःमा बसोबास गर्ने मानिसलाई फसिकेव, खिचापोखरी, रञ्जना गल्ली, पाको लगायत ठाउँमा स्थानान्तरण गरिएको उनी बताउँछन्।
'२०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा यो ठाउँलाई पूर्ण रूपमा खुला गरी अहिलेको डबली बनाइएको थियो,' उनले भने, 'अझै पनि बहाःका मानिसहरू दिनको दुईपटक नित्यपूजा र आरती गर्न यहाँ आउँछन्। अन्य वार्षिक पूजाहरू पनि हुन्छ।'
राजेन्द्रमानका अनुसार देय् आचार्य गुथि तथा कान्तिपुर सहरकै धर्म, संस्कृति तथा परम्पराको प्रशासनिक अधिकार यो महाविहारलाई थियो। काष्ठमण्डप निर्माणसँग जोडिएका तान्त्रिक लीलावज्र बज्राचार्यले उक्त गुथिमा महत्त्वपूर्ण योगदान गरेका थिए।
'चौरासी बौद्ध सिद्धाचार्य, सिद्धगुरूहरूमध्ये सिद्धाचार्य लीलावज्र बज्राचार्य यसै महाविहारका पूर्वज थिए। उहाँ तत्कालीन नालन्दा बौद्ध विश्वविद्यालयका चार शिक्षाध्यक्ष (तत्कालीन भाषामा सम्मानित पद) मध्ये एक हुनुहुन्थ्यो। उहाँले कंग्यूर तथा तंग्यूर पुस्तकालयका लागि असंख्य बौद्ध थ्यासफु (हस्तलिखित पाण्डुलिपि) हरूको तिब्बती भाषामा अनुवाद गर्नुभएको थियो,' राजेन्द्रमानले किताबमा लेखेका छन्।
यो महाविहारमा भएका अभिलेख र बौद्ध ग्रन्थहरू तत्कालीन शासकले कालभैरव मन्दिरपछाडि गाडेको उनको भनाइ छ। त्यही भएर महाविहारका गुठियारहरू कालभैरवलाई पछाडिबाट घुम्दैनन्।
भोटाहिति
अहिले जुन ठाउँलाई हामी भोटाहिति भन्छौं, त्यो 'हिति' अर्थात् ढुंगेधाराको नामबाट रहेको हो। तर अहिले भोटाहितिको अवशेष पनि त्यो ठाउँमा छैन।
पञ्चायतकालमा रत्नपार्कबाट भोटाहिति जान भूमिगत 'सब-वे' बनाइएको थियो। त्यो सब-वे बनाउन जमिन खन्दा लिच्छविकालीन हिति भेटिएको थियो।
इतिहासकार धनवज्र बज्राचार्यले आफ्नो किताब 'लिच्छविकालीन अभिलेख' मा टुँडिखेल वरपरका ऐतिहासिक हितिबारे उल्लेख गरेका छन्। उनका अनुसार अंशुवर्माले आफ्नो पुण्य बढोस् भनेर ती हितिहरू बनाउन लगाएका थिए।
धनवज्रले लेखेका छन्, 'काठमाडौं टुँडिखेलमा महांकाल मन्दिरदेखि उत्तरपट्टि पुरानो ढुंगेधारा थियो। टुँडिखेल विस्तार गर्दा यो ढुंगेधारा पुरियो।'
टुँडिखेल विस्तार हुनुअघि यहाँ वरिपरि सातवटा धारा रहेको भनेर त्यति बेला नेपाल भ्रमणमा आएका भारतका पण्डित भगवानलाल इन्द्रले 'दी इन्डियन एन्टिक्वारी' मा उल्लेख गरेका छन्। पञ्चायतकालमा 'सब-वे' बनाउँदा चारवटा ढुंगेधारा फेला परेका थिए। तीमध्ये एउटा पश्चिम, दुइटा उत्तर र एउटा पूर्व फर्किएको थियो। पूर्व फर्किएको धारा लिच्छविकालीन हो।
इतिहासकार शंकरमान राजवंशी 'सब-वे' रहेको ठाउँमा फेला परेको लिच्छविकालीन ढुंगेधाराको अवशेष नै ऐतिहासिक भोटाहिति भएको बताउँछन्।
उनका अनुसार अंशुवर्माको पालादेखि नै नेपाल र भोट (तिब्बत) बीच सम्बन्ध विकास भएको पाइन्छ। भोटमा आवतजावत गर्ने व्यापारीलाई लाग्ने करलाई लिच्छविकालमा 'भोट्टविष्टि' भनिन्थ्यो। कर बुझाउने ठाउँलाई अग्रहार भनिन्थ्यो, जुन सहरको सीमाछेउ हुन्छ।
'लिच्छविकालमा भोट्टविष्टि कर पाँच जनालाई लाग्थ्यो,' राजवंशीले 'लिच्छविकालीन भोटाहितिको अभिलेख' भन्ने लेखमा लेखेका छन्, 'भोटाहिति सब-वे बनाउने क्रममा घरका जगहरू देखापरेका थिए। त्यो जग अग्रहार रहेको ठाउँ हुनुपर्छ। त्यहाँ भोटे ताल्चाको साँचो पनि फेला परेको थियो।'
स्थानीयहरू भने ऐतिहासिक भोटाहिति साझा भण्डारको भवनमुनि पुरिएको विश्वास गर्छन्। त्यहाँ अहिलेसम्म उत्खनन भएको छैन। त्यही भएर भोटाहिति कुन हो भनेर आधिकारिक प्रमाण पाइँदैन।
यसबारे इतिहासकार राजवंशी लेख्छन्, 'धाराको अस्तित्त्व लोप भइसकेकाले हाल साझा भण्डार भएको ठाउँमा पुरिएको धारालाई भोटाहिति भन्ने गरेको हुनुपर्छ। तर प्रमाणहरू विचार गर्दा सबभन्दा पुरानो लिच्छविकालीन धारा नै भोटाहिति हुनुपर्छ जस्तो लाग्छ। भोट्टविष्ट कर लिने ठाउँको धारा भएकाले त्यस धाराको नाम भोट्टाहिति हुँदै अपभ्रंस भएर भोटाहिति भएको हुनुपर्छ।'
थँहिति
काठमाडौंको मध्य-सहर कोने (तल्लो) र थँने (माथिल्लो) गरी दुई भागमा विभाजित छ। सहरको तल्लो भागमा रहेको कोहिति र मध्य भागको मरूहिति अहिले पनि आफ्नो ठाउँमा छँदैछ। माथिल्लो भागको थँहितिको भने नामनिसान छैन। कहाँ गयो त यो हिति अर्थात् ढुंगेधारा?
अहिले तपाईंहरू थँहिति घुम्न जानुभयो भने मुख्य चोकमा सेतो रङको चैत्य देख्न सक्नुहुन्छ, जसलाई धर्मधातु चैत्य भनिन्छ। यही चैत्यमुनि ऐतिहासिक थँहिति रहेको विश्वास गरिन्छ।
चैत्यमा फेला पारिएको ढुंगाको अभिलेखअनुसार यहाँको हिति पहिला सुनले बनेको थियो। यसलाई राजा सूर्य मल्लले बनाएको विश्वास गरिन्छ।
विक्रम सम्बत् १४८९ (नेपाल सम्बत् ५५२) को यस अभिलेखमा उक्त सुनको धारा पुरेर त्यसमाथि चैत्य बनाइएको उल्लेख छ। यो चैत्य बनाउन ललितपुरबाट मेघराज शिल्पकार नामका व्यक्ति बोलाइएको थियो।
काठमाडौंका रैथाने तथा संस्कृति अध्येता सञ्जय स्थापित मन्दिरको काम गर्ने राम्रा शिल्पकारहरू काठमाडौंमै हुँदाहुँदै ललितपुरबाट झिकाउनुलाई शंकास्पद मान्छन्।
'हितिमा पानी थाप्न जाँदा रगत आएपछि अपवित्र भयो भनेर चैत्य बनाइएको जनश्रुति छ। तर मलाई यहाँ भएको कुनै ठूलो राजनीतिक हत्याकाण्डको प्रमाण लुकाउन हिति पुरिएको हो कि भन्ने लाग्छ,' स्थापितले भने, 'यो चैत्य नजिकै थकु चुक (चोक) छ। इतिहासको कुनै कालखण्डमा त्यहाँ कुनै ठूलो हत्याकाण्ड भएको हुनुपर्छ। त्यसको प्रमाण यो हितिमा पनि भएकाले लुकाउन खोजिएको देखिन्छ। त्यस्तो हुन्थेन भने रातारात ललितपुरका मान्छे बोलाएर यहाँको हिति छोप्नुपर्ने र त्यसमाथि चैत्य बनाउनुपर्ने थिएन होला। यहाँ चैत्य बनाउनु भनेको ऐतिहासिक सबुत मेट्नु हो।'
यो हिति र चैत्यसँग जोडिएको अर्को जनश्रुति पनि छ —
थँहितिमा भएको सुनको हितिबाट पानीको साटो साँच्चिकै सुन बग्ने रहेछ। हिति नजिकै रहेको रत्नकेतु महाविहार (झ्वाः बहाः) त्यही सुनबाट बनाइएको जनविश्वास छ। हितिबाट सुन बग्ने भएपछि मानिसमा लोभ बढ्न थाल्यो। उनीहरू सुन जम्मा गर्न हानथाप गर्न थाले। त्यही परिस्थिति अन्त्य गर्न तत्कालीन मल्ल राजाले हिति छोपेर चैत्य बनाएको भनिन्छ।
'अहिले पनि यहाँका स्थानीय कहिलेकाहीँ चैत्यमुनि पानी बगेको आवाज सुनिन्छ भन्छन्,' काठमाडौंका चैत्यबारे अध्ययन गरेका रत्नकाजी बज्राचार्यले 'ये देया चैत्य' मा उल्लेख गरेका छन्।
कुम्हो प्याखँ (कुमार नाच)
जसरी काठमाडौंमा जीवित देवीका रूपमा कुमारीको पूजा हुन्छ, कुनै समय जीवित देवका रूपमा यहाँ कुमार पनि थिए।
उनको नित्य पूजा मात्र होइन, दसैं बेला नाच पनि देखाइन्थ्यो। जीवित देव कुमारको नाचलाई नेपाल भाषामा 'कुम्हो प्याखँ' भनिन्थ्यो। यो नाच लोप भएको २८ वर्ष भयो।
थायमदू (बांगेमुढा) निवासी दबलकाजी तुलाधर २०२२ सालमा कुमार बनेका थिए। त्यति बेला उनी सात वर्षका थिए। नियमअनुसार उनले पाँच वर्षसम्म कुमार नाच प्रदर्शन गरे।
त्यसअघि दबलकाजीका बुबा दानरत्न पनि सात वर्षको हुँदा कुमार बनेर नाचेका थिए। यो क्रम दबलकाजीका छोरा दिवेशकाजीसम्म आयो।
दिवेशकाजी परिवारको मात्र होइन, यो नाच नाच्ने अन्तिम कुमार पनि हुन्। हाल अमेरिकामा रहेका उनी २०४६ देखि २०५३ सालसम्म कुमार बनेर नाचेका थिए। एउटा व्यक्ति कुमार बनेर नाच्ने अवधि पाँच वर्षको भए पनि दिवेशकाजीले थप दुई वर्ष नाच देखाए। यसको कारण खुलाउँदै उनका बुबा दबलकाजीले भने, '२०५१ सालमा हाम्रो पालो सकिएको थियो। तर पाँच वर्ष भइसक्दा पनि कुमार बन्ने अर्को बच्चा फेला नपरेकाले हामीलाई थप एक वर्ष नाच देखाउन अनुरोध गरियो।'
दिवेशकाजीले एक वर्ष जसोतसो कुमार बनेर परम्परा धाने। तर अर्को वर्ष पनि बच्चा फेला परेन। त्यसपछि दिवेशकाजीलाई नै कुमार बन्न अनुरोध गरियो।
कुमार बन्दा एकदमै कडा नियम मान्नुपर्ने भएकाले दबलकाजीले आफ्ना छोरा दिवेशलाई घरिघरि कुमार बनाउन नसक्ने जानकारी पहिल्यै गराएका थिए। उनले कसैगरी पनि छोरालाई कुमार नबनाउने अडानै लिएका थिए। तर जात्रा सञ्चालनमा सहयोग पुर्याउँदै आएको पुरातत्त्व विभागले पत्र नै लेखेर आग्रह गरेपछि उनलाई मान्न करै लाग्यो। त्यसपछिका वर्ष भने उनले छोरालाई कुमार बनाउन मानेनन्।
दिवेशकाजीको पालो सकिएपछि कुमार बन्ने अरू कुनै बच्चा फेला परेन। अहिले पनि यो नाच ब्युँताउने कुरा चल्छ, तर त्यसै सेलाउँछ।
कुमार बन्ने बालक फेला नपर्नुमा तीन मुख्य कारण रहेको दबलकाजी बताउँछन्।
पहिलो, जसरी जीवित देवी कुमारीलाई राज्य स्तरबाट सम्मान र सेवासुविधा दिइन्छ, त्यस्तै सम्मान र सेवासुविधा कुमारलाई छैन।
दोस्रो, बालकले वर्षभर नियममा बस्नुपर्छ। बिहानै उठेर नुहाइधुवाइ गरी नित्यनाथको पूजा गर्नुपर्छ। पूजा गर्न जाँदा कसैलाई छुनु हुँदैन। भोजभतेरमा जाँदा गुर्जुनजिकै बस्नुपर्छ। चोखो खानुपर्छ। कुमार बनेको अवधिभर कुनै आफन्तजनकहाँ रात बिताउन हुँदैन। उनलाई कसैले टेक्न वा नाघ्न पनि हुँदैन।
'यस्ता थुप्रै नियम छन्, जसलाई पालना गर्न निकै कठिन छ। आजकलका केटाकेटी स्कुल पढ्न जाने भए। त्यसले पनि नियममा रहेर कुमार बन्न गाह्रो हुन थाल्यो,' दबलकाजीले भने।
तेस्रो कारण अझै संवेदनशील छ।
दबलकाजीका अनुसार एकपटक कुमार बनेका बालकको निधन भएको थियो। अर्का एक बालकमा गम्भीर मानसिक समस्या देखिएको थियो। यी घटनाले पनि परिवारजनलाई सशंकित बनायो।
कुम्हो प्याखँका लागि कुमार छनोट गर्दा पहिले तुलाधर र कंसाकार समुदायका बालकमा गोलाप्रथा हुन्थ्यो। दबलकाजीको समयमा नाचघरमा गोलाप्रथा भएको थियो। गोलाप्रथा गर्दा एउटा कागजमा 'कुमार' लेखिन्थ्यो र केही खाली कागज राखिन्थ्यो। जसले कुमार लेखेको कागज फेला पार्यो, उसैलाई कुमार बनाइन्थ्यो।
समयक्रममा कुमार बन्ने बालक फेला पर्न छाडेपछि जसको परिवारले आफ्नो छोरालाई कुमार बनाउन इच्छा देखाउँथ्यो, उसैलाई बनाइन थाल्यो। पछि त आग्रह गर्दा पनि कुनै परिवार तयार भएन।
कुम्हो प्याखँको विशेषता के भने यो नाच हरेक वर्ष दसैंको समयमा हनुमानढोकास्थित तलेजु भवानी मन्दिरअगाडि प्रदर्शन गर्नुपर्थ्यो।
महिषासूर दानवमाथि विजय हासिल गरेपछि तलेजु भवानीले आफ्नो सेतो घोडामा सिँगारिएर खुसियाली मनाउँदै नगर परिक्रमा गर्छिन् भन्ने जनविश्वास छ। त्यही भएर फूलपातीको दिन तलेजु भवानीलाई हनुमानढोका दरबार परिसरको मूलचोकमा सार्ने चलन छ। त्यसै दिन तलेजु भवानी मन्दिर नजिकैको डबलीमा कुमार र ओमबहालबाट दैत्य बनेर आएका बालकको नाच प्रदर्शन गरिन्थ्यो।
कुमार बनेका बालकको हातमा धनुवाण हुन्छ। त्यही धनुवाणको सहायताले कुमारले आकाशबाट आएको खराब शक्तिबाट तलेजुको रक्षा गर्छन् भन्ने भनाइ छ। त्यस्तै, दैत्यको हातमा त्रिशूल हुन्छ, जसको सहायताले पातालबाट आएको खराब शक्तिबाट तलेजुको रक्षा गरिन्छ।
कुमार बन्ने व्यक्ति तुलाधर वा कंसाकार समुदायबाट बनाउने चलन थियो। दैत्य बन्ने व्यक्ति भने ओमबहालका शाक्य परिवारबाट छनोट हुन्थ्यो। सातदेखि १२ वर्ष उमेरको ब्रतबन्ध भइसकेका बालक यो नाचमा छनोट हुन्थे।
पहिले कुम्हो प्याखँ भोटाहितिस्थित नाइकेको घरको आँगनबाट सुरू हुन्थ्यो। त्यहाँ नाचिसकेपछि अन्नपूर्ण मन्दिरअगाडि नाच्नुपर्थ्यो। त्यसपछि जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिर अगाडिको डबलीमा नाच्नुपर्थ्यो। त्यहाँबाट इन्द्रचोकको आकाश भैरव परिक्रमा गर्दै हनुमानढोकाको तलेजु भवानी मन्दिर अगाडि नाच्नुपर्थ्यो। अन्य ठाउँमा कुमार एक्लै नाचे पनि तलेजु मन्दिर अगाडि भने कुमार र दैत्य एकसाथ नाच्ने चलन थियो।
हनुमानढोकाबाट निस्किएर काष्ठमण्डप र त्यसअगाडिको सिंहसतः परिक्रमा गरेर इन्द्रचोक हुँदै असनको डबलीमा नाच देखाइन्थ्यो।
यो नाचको एउटा मुख्य हिस्सा असन डबलीमा प्रदर्शन गरिन्थ्यो। जब कुमार बन्ने बालकको पाँचवर्षे अवधि समाप्त हुन्थ्यो, उनलाई बाजा समूहले बाजा बजाउँदै घेर्दै लगेर डबलीबाट खसाल्थ्यो।
वंघः (इन्द्रचोक) डबली
नब्बे सालको भुइँचालोपछि सहर पुनर्निर्माण क्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले नयाँ सडक बनाए। त्यसको एक छेउ आफ्नो पूर्णकदको प्रतिमा बनाए भने अर्को छेउ प्रवेशद्वार निर्माण गराए। त्यति बेला 'जुद्ध सडक' नाम दिइएको उक्त सडकलाई आज हामी न्यूरोड भन्छौं।
त्यही बेला जुद्धशमशेरले आफ्नो सालिकदेखि इन्द्रचोकसम्मको सडक फराक पारे र सडक किनारमा व्यावसायिक प्रयोजनका लागि उस्तै खालका घर बनाउन लगाए। ती घरका केही अवशेष आज पनि देखिन्छन्।
नब्बे सालको त्यो पुनर्निर्माणले हामीलाई न्यूरोडको फराकिलो सडक त दियो, तर केही महत्त्वपूर्ण सांस्कृतिक स्थल विनाश गरायो।
त्यसैमध्ये एक हो, इन्द्रचोक अर्थात् वंघःको डबली।
इन्द्रचोकलाई वंघ: भन्नुका पछाडि पनि कारण छ। काठमाडौं सभ्यतासँग जोडिएका दुई महत्त्वपूर्ण नदी छन् – बागमती र विष्णुमती। यी दुई नदी इन्द्रचोकमा आएर जोडिने र एउटै नदी भएर बग्ने कुरा विभिन्न वंशावलीमा उल्लेख छ। त्यसैले यो ठाउँलाई सुरूमा 'ह्वंगः' भनिन्थ्यो। नेपाल भाषामा ह्वंगःको अर्थ दोभान हो। ह्वंगः नै अपभ्रंस भएर वंघ: बनेको हो।
इन्द्रचोकमा बागमती र विष्णुमती दोभानको कुनै पनि अवशेष वा प्रमाण अहिलेसम्म भेटिएको छैन। वंघ: डबली भने आज पनि यहाँका स्थानीयको स्मरणमा ताजै छ।
वंघ: डबलीको विशेषता के भने यहाँ दी प्याखं (देवी नाच), श्वेतकाली अजिमा, १२ वर्षे नाच लगायत विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिन्छन्।
काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव इन्द्रजात्रा (येँया पुन्हि) बेला प्रदर्शन गरिने देवी नाच यही डबलीमा देखाउनुपर्ने नियम छ। तर डबली नहुँदा त्यसको सम्झनामा सडकमै नाच देखाइन्छ।
देवी नाचमा अंक सातको संयोग हुन्छ। सात देवदेवी, सात डबली, सात नाइके, सात बाजा र सात ताल। नाचको समय पनि सातै घन्टा हुन्छ। देवदेवी पनि सातै जना हुन्छन् – भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।
देवी नाच प्रदर्शनका लागि काठमाडौंका सात डबलीमा कुन दिन कुन नाच देखाउने भनेर निश्चित छ। किलागलको बिज्यापु डबलीमा चौथीदेखि सप्तमीसम्म नाच चल्छ। काया अष्टमीको दिन देवी नाचलाई सार्वजनिक प्रदर्शनमा लगिन्छ। यो दिन किलागलको मुख्य डबलीमा नाच देखाइन्छ।
इन्द्रजात्रा सुरू भएपछि कागेश्वरी नजिकैको डबलीमा देखाइन्छ। अहिले यो डबली मासिएकाले सडकमै देखाउनुपर्छ।
त्यसपछि कुमारी रथयात्राको पहिलो दिन जैसीदेवल (न्हूघः) डबलीमा नाच देखाइन्छ। दोस्रो दिन बांगेमुढा र इन्द्रचोक डबलीमा देखाइन्छ।
यी पाँच डबलीका अतिरिक्त बाँकी दुइटामा पनि नाच प्रदर्शन गरिन्छ – वसन्तपुरको महादेव–पार्वती मन्दिर अगाडिको डबली र कालभैरव अगाडिको डबली।
महादेव–पार्वती मन्दिरअगाडिको डबलीमा कुमारी रथ परिक्रमा सकिनुअघि नाचिन्छ भने त्यहाँबाट फर्किंदा कालभैरवमा नाचिन्छ।
नब्बे सालमा मासिएको इन्द्रचोक डबली करिब ९० वर्षपछि ब्युँताउने प्रयास भएको थियो। दुई वर्षअघि बागमती प्रदेश सरकारको सहयोगमा इन्द्रचोक उपभोक्ता समितिले डबली पुनर्निर्माण थालेको थियो। त्यसै क्रममा पहिले डबली भएको ठाउँमा ढुंगा बिछ्याइएको छ। कालोपत्रे सडकको बीचमा ढुंगा बिछ्याइएको ठाउँले डबलीको झलकसम्म दिन्छ।
डबलीको क्षेत्रफल १८ फिट लामो र २२ फिट चौडा छ। अगाडि मण्डल राखिएको छ, जहाँ दी प्याखं (देवी नाच), श्वेतकाली अजिमा लगायत नाच देखाउनुअघि सुकुन्दा बालिन्छ। छेउमा वंघः दबू लेखेर नेपाल सम्बतमा पुनर्निर्माण मिति जनाउन नेसं ११४२ राखिएको छ।
परम्परागत डबली सडकको सतहभन्दा अलि उँचो हुन्छ। यो डबली भने सडककै सतहमा बनाइएको छ। इन्द्रचोक सधैं व्यस्त हुने भएकाले जात्रा बेला नाच देखाउन र अरू बेला सवारी साधन गुड्न सहज होस् भनेर यस्तो गरिएको हो।
***