बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले शुक्रबार यही फेब्रुअरी २५ का दिन 'नेपाल डे' मनाउने भएको छ। अस्पतालमा विविधता र समावेशी प्रमुखका रूपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत अस्पतालमा कार्यरत कर्मचारीलाई यस्तो जानकारी गराएकी हुन्।
अस्पतालमा हाल ७८ देशका मानिस विभिन्न पदमा कार्यरत छन्। नेपाल डे मनाउन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ। उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहनुभएकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन्।
नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ। नेपाली भेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताइन्।
यस्तै यहीबीच नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने छ भने नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्बिर र नेपाली कला प्रदर्शनी गरिने छ।
अस्पतालमा करिब १५० नेपाली कार्यरत छन्।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८, २१:२७:००