कर्मकल्चर
तपाईंले गाउँ फर्केर के फलाउनुभयो? के उमार्नुभयो? खास तपाईंको उत्पादन के हो? कति कमाउनुभयो?
यस्ता प्रश्न म प्रायः सुन्छु। सुरूमा म आफै पनि यस्तै सोच्थेँ।
यस्ता प्रश्न सामना गर्नुपर्ला भन्ने लागेको थिएन, र गरिहाल्नुपरे पनि के जबाफ दिने भन्ने प्रस्ट थिएन।
यस्तै धुकधुकीबाट गुज्रिरहेका बेला, हालैको एक साँझ मलाई साक्षात् प्रकृतिले दर्शन दिइन्। जब म घर नजिकैको तलाउको डिल हिँड्दै थिएँ, पिलपिल जूनकिरी देखेँ। तिनको बत्ती बल्ने पुच्छरमा मैले खोजिरहेको उत्तर चम्किएको थियो।
हो त, मैले जूनकिरी फलाएँ — याने कि, आफ्नो बारीमा प्रकृतिका यी कलाकार कीरा फर्काएँ।
जूनकिरी आफ्नो बारीमा फलाउनु वा फर्काउनु किन उल्लेखनीय हो भने, न्यानो ठाउँ र न्यानो यामका साँझका साथी यी कीराले हामीप्रति माया घटाउँदै गएका छन्।
उनीहरूलाई थाहा छ — मानिसलाई उज्यालो दिन बिजुली जताततै पुगेको छ, रात कतै झिमिक्क पर्नै पाउँदैन। लोडसेडिङ भइहाल्यो भने, मानिसको हातमा मोबाइल फोनको फ्ल्यासलाइट छ। यस्तो आधुनिक जमानामा हामीलाई जाबो कीराको के काम?
कीराले कसरी सोच्ला वा नसोच्ला — मानिसको भने लगभग त्यस्तै सोच बन्न पुगेको छ।
जूनकिरीको मात्र के कुरा — कुनै पनि कीरा किन चाहियो भन्ने धारणा बनेको छ। नत्र, यो विधिवत विष–विषादीको प्रयोग यति घोर दुरूपयोगका रूपमा संसारभरि सजिलै हुन सक्थ्यो होला र?
जूनकिरी वसन्तका पालुवासँगै देखिन थाल्नु यामको सूचक हो भने, यिनको अस्तित्व पर्यावरणको सूचक पनि हो। सफा पानीको अविरल स्रोत तथा रासायनिक विषादीमुक्त वातावरणमा मात्र उनीहरूको जीवन सहज हुन्छ। यिनको उपस्थितिले माटो मलिलो हुन आवश्यक सूक्ष्म जीवाणुको उपस्थिति पनि दर्शाउँछ।
सिमसार संरक्षण खेतीपातीकै लागि पनि जरूरी छ। रसिलो क्षेत्र नजिक राख्दा त्यसको सघन जैविक विविधताले खेतीलाई मलजल गर्छ।
उदाहरणका लागि, जूनकिरीका अप्रत्यक्ष लाभ अनेक छन्। यिनको लार्भा अवस्था अत्यन्त खन्चुवा हुन्छ — त्यतिखेर तिनले कमला कीराजस्तै शंखेकीरा, चिप्लेकीरा खाइदिन्छन्। एक हिसाबले यी किसानलाई कीरा व्यवस्थापनमा सघाउँछन्। त्यसैले यी किसानका साथी हुन्!
हाम्रा गाउँघरमा त्यसै पनि पानीका स्रोतहरू घट्दै गएका छन्, मुहानहरू सुक्न थालेका छन्। सडकको जालो प्रायः नदीनाला, खोलाखोल्सा, खेतका फाँट हुँदै गएकाले जूनकिरी लखेटिएका छन्।
हाम्रो भेगमा यस वर्ष पनि लामो खडेरी थियो। बल्ल आइतबार बिहानको झरीले माटोको आँत भिज्न पाएको छ। सफा पानीका सिमसार, दलदल, तलाउ, पोखरी, झरना, रसिला छेउकुनामा रमाउने यस्ता कीराको बासस्थान आज संकटमा छ।
संसारभरि लगभग २,५०० प्रजातिका जूनकिरी पाइन्छन्, तर विभिन्न दबाबका कारण तिनीहरू नाश हुँदै गएका छन्। संरक्षण अभियानहरू आवश्यक पर्न थालेका छन्।
जूनकिरीका प्रजातिपिच्छे सूक्ष्म फरक छुट्ट्याउन विस्तृत अध्ययन आवश्यक छ। नेपालमा कति प्रजाति छन्, कति लोपोन्मुख छन् भन्ने यकिन छैन।
'बायोलुमिनेसन्स' भनिने जूनकिरीको उज्यालो — पोथी भेट्टाउने, फकाउने रतिक्रियात्मक संकेत हो। यसको बाल अवस्थामा उज्यालो सिकारबाट जोगिने उपाय पनि ठानिन्छ — किनभने यो अरू कीराभन्दा तितो हुन्छ भन्ने जानकारी दिन प्रयोग गरिन्छ भन्ने अनुसन्धानकर्ताहरूको विश्वास छ।
रतिक्रियाका लागि जोडी खोज्न उड्ने यी कीरा हामीले बाल्ने चम्किला बिजुली बल्बबाट दिग्भ्रमित हुन्छन्। कतिपय त 'दिउँसो पो रहेछ' भनेर झुक्किन्छन्। भाले–पोथीको मिलनबिना तिनको त्यत्तिकै छोटो आयु सकिन्छ — त्यो जातकै निरन्तरता अन्त्यतिर जान्छ।
केही थरी जूनकिरीले कृत्रिम उज्यालोबाट जोगिन सक्ने उदाहरणहरू अमेरिका जस्ता देशहरूमा देखिएका छन् — मैले द वासिङ्टन पोस्ट दैनिकमा पढेको थिएँ। तर जूनकिरीको विविधता भने घट्दो छ भन्ने नै त्यस लेखको मूल सन्देश थियो। आज विश्वभरि किराको संख्या अचाक्ली घट्दो, विविधता डरलाग्दो गरी खस्किँदो छ — त्यसको प्रत्यक्ष मार हाम्रो खानाको स्रोतमा पर्न सक्ने चिन्ता बढेको छ।
जान्नेहरू भन्छन् — मान्छे नभए पृथ्वी अरू प्राणीका लागि अझ राम्रो हुन्थ्यो होला, तर कीरा नभए त कुनै पनि जीवन सम्भव छैन।
जूनकिरी केवल कवि, लेखक वा कलाकारका लागि होइन — वैज्ञानिकका लागि पनि आकर्षण हो। यसको बत्तीले तापरहित उज्यालो दिन्छ, जुन हामीले बनाएका बल्बहरूले दिन सक्दैनन्।
वैज्ञानिकहरूले जूनकिरीको उज्यालोमा पाइने बायोलुमिनेसन्ट रसायनहरूलाई खानेकुरा प्रदूषण पत्ता लगाउन, नयाँ एन्टिबायोटिक विकास गर्न, र क्यान्सर उपचारका लागि कीमोथेरापी परीक्षणमा प्रयोग गरेका छन्।
जूनकिरी जोगाउनु हाम्रो कर्तव्य हो भन्ने मान्नेहरूले आफ्नो वरिपरि सफा पानीको स्रोत जोगाउने, दलदले माटो नखल्बल्याउने, पातपतिंगर छाडिदिने, साना हाँगाबिँगा रहन दिने, रासायनिक विषादी प्रयोग नगर्ने, र अँध्यारोमा बत्ती निभाइहाल्ने गर्नुपर्छ भन्ने सुझाव वैज्ञानिक तथा प्रकृति संरक्षणविदहरू दिन्छन्।
मेरा लागि, जूनकिरीले बालेको उज्यालो मेरो अज्ञानता कम गर्ने प्रेरणा पनि हो।
यसको अस्तित्व दशकौंपछि आफ्नै बारीमा देखेपछि मैले सोचेँ — दीगो खेती खासमा प्रकृति पुनर्स्थापना अभ्यास हो। त्यस्तो कृषि असल कर्म हो, जसले प्रकृति नासेर बनाइएको खेतबारीको क्षतिपूर्ति स्वरूप, कम्तीमा केही हदसम्म प्रकृतिसँग मेल खाने वातावरण सिर्जना गर्न सक्छ।
म आफै सानोमा जूनकिरीको उज्यालोमा हिँड्दै घर फर्केको सम्झिन्छु — कतिपल्ट त जूनकिरी धेरै भएर मभन्दा पहिल्यै ढोकाबाट छिरेका थिए। 'जूनकिरी' भन्नेबित्तिकै आज पनि जो कोही बाल्यकाल फर्किन्छ — कि त कविता, या कुनै साहित्यक कृतिमा।
हामी जूनकिरीबिनाको जीवन कल्पना नगरौं।
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle