सनम पुरी हिन्दी कभर गीत सुन्ने धेरैका प्रिय गायक हुन्। पप-रक 'सनम' ब्यान्डका गायक सनमले बलिउडका नयाँ तथा पुराना गीतका कभरबाहेक बलिउड फिल्ममा ओरिजिनल गीतसमेत गाएका छन्। उनले 'हसी तो फसी', 'स्टुडेन्ट अफ द इयर' जस्ता चर्चित फिल्म स्वर दिएका सनमसँग हालै नेपालकी चर्चित गायिका त्रिशला गुरुङले सहकार्य गरेकी छन्।
त्रिशलाले सनमसँग '१९४२ अ लभ स्टोरी' फिल्मको 'प्यार हुआ चुपके से' को कभर भर्सन गाएकी हुन्। आरडी बर्मनको संगीतमा कविता कृष्णमूर्तिले गाएको यो गीत समावेश फिल्ममा अभिनेत्री मनिषा कोइरालाले अभिनय गरेकी थिइन्।
एक हप्ताअघि गायक सनमको युट्युब च्यानलबाट यो गीतको भिडिओ सार्वजनिक भएको थियो जसलाई स्रोताहरुले निकै मन पराएका छन्। भिडिओमा मोडलका रुपमा समेत देखिएकी त्रिशला र सनमको यो गीत हाल ट्रेन्डिङमा छ। गीतको भिडिओले १७ लाख बढी भ्युज पाइसकेको छ।
त्रिशला गायिका पेसाले डाक्टर पनि हुन्। नेपाली तथा हिन्दी कभर गीत गाएर चर्चामा आएकी त्रिशलाको ओरिजिनल 'मन' बोलको गीत पनि चर्चित छ। पछिल्लो पटक गायक स्वप्न सुमनसँग गाएको युगल गीत 'मायालु' सार्वजनिक गरेकी थिइन्।