बलिउड फिल्म 'बजरंगी भाइजान' को सिक्वेल 'पवनपुत्र भाइजान' बाट करीना कपूर खान बाहिरिएकी छन्।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्ममा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे देखिनेछन्। फिल्ममा करीनाले निर्वाह गरेको भूमिकामा पूजा देखिने हो कि अन्य भूमिका खुलाइएको छैन।
‘पवनपुत्र भाइजानमा सलमानले करीनाको ठाउँमा पूजालाई राखेका छन्। तर, पूजाले नयाँ भूमिकामा हो कि बेबोले निर्वाह गरेको भूमिका देखिने हो टुंगो लागेको छैन,’ बलिउड हंगामाका स्रोतले भने।
सलमान खान र करीना कपूरको फिल्म ‘बजरंगी भाइजान’ सन् २०१५ मा रिलिज भएको थियो। यो फिल्मलाई दर्शकले निकै रूचाएका थिए।
फिल्मका लेखक विजयेन्द्र प्रसादले करीना बाहिरिएको खबरले अच्चममा परेको बताएका छन्।
'मैले फिल्मको कथा सलमानलाई सुनाएको थिएँ। उनलाई कथा मन परेको छ। तर फिल्ममा करीनाको ठाउँमा पूजालाई लिएको खबरले सबै अचम्ममा परेका छौं,’ उनले भने।
पूजाले सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा अभिनय गरेकी छन्। यो फिल्मको छायांकनदेखि सलमान र पूजा नजिकिएको बताइएको छ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १५:२८:००