नागरिक लगानी कोषको नाफा मात्रै ४ प्रतिशतले बढेको छ। गत वर्ष चैतसम्ममा ५९ करोड नाफा कमाएकोमा कोषको नाफा यसपटक ६१ करोड रूपैयाँ भएको छ।
कोषको आम्दानीमा पनि लगभग यस्तै दरमा वृद्धि भएको छ। कुल आम्दानी ९९ करोडबाट बढेर १ अर्ब ३ करोड रूपैयाँ पुगेको छ।
कोषले बैंकमा राखेको निक्षेपबाट १४ करोड ब्याज आम्दानी, कोषका ग्राहकहरूलाई दिएको सेवावापतको शुल्क र कमिशनबाट ८८ करोड र अन्यमा ४ लाख रूपैयाँ आम्दानी गरेको छ। कोषले बैंकमा १ खर्ब ७ अर्ब रूपैयाँ मुद्दति निक्षेप राखेको छ। २२ अर्ब रूपैयाँ बचतकर्ताहरूमा कर्जा लगानी गरेको छ भने १६ अर्ब ६५ करोड रूपैयाँ सेयर लगानी छ। बचतकर्ताहरूलाई नै आवास कर्जा लगायतमा ३८ अर्ब लगानी गरेको छ।
कोषको प्रतिसेयर नेटवर्थ १ सय ८६ रूपैयाँ र प्रतिसेयर आम्दानी (वार्षिक) २७ रूपैयाँ छ। बजारमा कोषको सेयर प्रतिकित्ता २८ सय रूपैयाँ हाराहारी कारोबार भइरहेको छ। कोषसँग १ अर्ब २६ करोड रूपैयाँ सेयर प्रिमियम भने छ। यो रकम बोनस सेयर दिन समेत प्रयोग गर्न पाइन्छ।