बुधबार नेप्से परिसूचक १४.३७ अंकले बढेर २,२३१.५७ विन्दुमा पुगेको छ।
बजेटले लगानीमैत्री नीति ल्याउन सक्ने अपेक्षासँगै बजार बढिरहेको केही ब्रोकरहरू बताउँछन्। अघिल्लो दिन पनि नेप्से परिसूचक १६.३२ अंकले बढेर २,२१७.१९ विन्दुमा पुगेको थियो।
बजार बढेपनि अघिल्लो दिनको तुलनामा आज सेयर किनबेच घटेको छ भने कारोबार रकम पनि घटेको छ। आज जम्मा २२६ किसिमका धितोपत्र तथा ऋणपत्रको २६ लाख ९४ हजार ४२९ सेयर किनबेच भएको छ। अघिल्लो दिन भने २२४ धितोपत्र तथा ऋणपत्रको ३१ लाख ७३० सेयर किनबेच भएको थियो।
अघिल्लो दिन एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रूपैयाँ कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ४ करोड ४६ लाख २६ हजार रूपैयाँ भएको छ।
बुधबार १६५ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने ५१ वटाको मूल्य घटेको छ। सबैभन्दा धेरै बढ्नेमा बलेफी हाइड्रोपावर रहेको छ, जसको ५.९२ प्रतिशत सेयर मूल्य बढेको हो। कम्पनीको सेयर कारोबार मंगलबारदेखि सुरू भएको हो। यसपछि मैलुङ खोला जलविद्युत कम्पनीको ५.८४ प्रतिशतले सेयर मूल्य बढेको छ।
कर्पोरेट विकास बैंकको भने आज सबैभन्दा धेरै ७.१३ प्रतिशतले सेयर मूल्य घटेको छ। अघिल्लो दिन पनि बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको थियो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै ट्रेडिङको १.५३ प्रतिशत र नन लाइफ इन्स्योरेन्सको १.४३ प्रतिशतले बढेको हो। यसपछि हाइड्रोपावरको १.१९ प्रतिशतले सेयर मूल्य बढेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ३४ लाख ८ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि अरुण काबेली पावरको ४ करोड ७१ लाख ६८ हजार रूपैयाँ, नबिल बैंकको ३ करोड ४४ लाख ८५ हजार रूपैयाँ, अरुण हाइड्रोपावरको २ करोड ८८ लाख ११ हजार रूपैयाँ र अपि पावरको २ करोड ५६ लाख ८७ हजार रूपैयाँको कारोबार भएको हो।