आइएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरूमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ।
बीमा क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आइतबार उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले बताएको छ।
इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरेको बताइएको छ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरेको जानकारी दिए।
नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरेको कम्पनीले जनाएको छ।
मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको कम्पनीले बताएको छ।
बीमा कम्पनीले एकैदिन पाँच हजार आठ सय ४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको यो पहिलो पटक भएको कम्पनीको दाबी छ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार विद्यार्थीहरूलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो।
इन्स्योरेन्सले पाँचौ वर्ष पूरा गरेको अवसरमा एकैदिन सात सय ४८ जनालाई बीमा अभिकर्ता तालिम, पाँच सय ७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १ हजार तीन सय दुई जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको बताएको छ।