नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु वर्षका लागि वार्षिक बजेट ४१ अर्ब ११ करोड १० लाख रुपैयाँको ल्याएको छ।
निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल तथा क्षमता विस्तारमा केन्द्रित रहेर आएको बजेटमा आन्तरिक विमानस्थलको विकास तथा विस्तारका लागि पनि समेटिएको छ।
प्राधिकरणले ३० करोड ६४ लाख रुपैयाँ पुँजीगत तर्फ बिनियोजन गरेको छ भने बाँकी बजेट साधारण खर्चका लागि छुट्याएको छ।
प्राधिकरणको कूल बजेट गत वर्षको भन्दा ५ अर्बले न्यून हो। गएको वर्षका लागि प्राधिकरणले ४६ अर्ब ९६ करोडको बजेट ल्याएको थियो।
कोरोनाको कारणले गर्दा गएकै वर्ष अनुमानको तुलनामा आधामात्र आम्दनी गरेको प्राधिकरणले यो वर्षका लागि आम्दानी अनुमान पनि घटाएको छ।
विभिन्न स्रोतबाट २ अर्ब ७ करोड आम्दानी हुने, विमानस्थल विकास शुल्कबाट ६० करोड र अनुदान तथा लगानी र ऋणबाट २० अर्ब आउने प्राधिकरणले अनुमान गरेको छ। प्राधिकरणले विमानस्थल बनाउँदा सरकारले दिने ऋण तथा लगानीलाई यसमा आम्दानीको रुपमा राखिन्छ।
त्यस्तै प्राधिकरणको आफ्नै बैंक मौजदात, सरकारबाट पाउनुपर्ने कर फिर्ता लगायतका शिर्षकगरी कूल ४१ अर्ब १२ करोड आम्दानी हुने प्राधिकरणले अनुमान गरेको छ।
चार ठूला विमानस्थलमा २२ अर्ब
प्राधिकरणले चार ठूला विमानस्थलका लागि २२ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जग्गाको मुआव्जा,भौतिक पूर्वाधार निर्माण तथा उपकरण खरिदका लागि भन्दै विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको हो।
यो वर्षका लागि सबैभन्दा बढी बजेट पोखरा विमानस्थलले पाएको छ। पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ११ अर्ब तीन करोड बजेट बिनियोजन गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण का लागि भन्दै ७८ करोड, टर्मिनल भवन तथा धावनमार्ग निर्माणका लागि १० अर्ब २५ करोड बजेट बनियोजन भएको छ।
त्यस्तै भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो वर्ष ६ अर्ब ४५ करोड बनियोजन गरिएको छ। यसमा जग्गा अधिग्रहण गर्न २ अर्ब १६ करोड ८३ लाख, नयाँ टर्मिनल भवन तथा अन्य पूर्वाधारका लागि ३ अर्ब २८ करोड, यन्त्र उपकरणका लागि ६० करोड,अग्नि नियन्त्रण सवारीका लागि ४१ करोड विनियोजन गरिएको छ। अन्य यन्त्र तथा उपकरणका लागि पनि करोडबढी बजेट विनियोजन भएको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन भएको छ। यसमा धावनमार्गको उत्तर तर्फ एप्रोन तथा प्यारालल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ९१ करोड, दक्षिण तर्फ प्यारालल ट्याक्सी वे का लागि १ अर्ब ४६ करोड, टर्मिनल भवनका लागि ४० करोड, बुटिक विमानस्थलका लागि २८ करोड र जग्गा अधिग्रहण मुआब्जा वितरणका लागि ८० करोड बिनियोजन गरिएको छ। त्यस्तै यन्त्र उपकरणका लागि भन्दै ५ करोड बजेट विनियोजन गरिएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा तथा रुख कटानका लागि भन्दै प्राधिकरणले २८ करोड बजेट विनियोजन गरेको छ।
त्यस्तै आन्तरिक विमानस्थलहरुको क्षमता विस्तार, यन्त्र उपकरण थपका लागि पनि बजेट विनियोजन गरिएको प्राधिकरणले जानकारी दिएको छ।