कोरोना महामारी सुरु हुँदै गर्दा २०७६ चैत १९ गते नेपाल आयाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तोकेको थियो। सो समयमा डिजेलको मूल्य प्रति लिटर ८५ रुपैयाँ थियो।
गत शनिबार (जेठ २२ गते) पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै निगमले काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँ र डिलेज प्रति लिटर १ सय ८ रुपैयाँ तोकेको छ।
२०७६ चैतदेखि हालसम्म पेट्रोलियम पदार्थको मूल्य समायोजनको अवस्था हेर्दा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ र डिजेल २३ रुपैयाँले महँगीएको छ।
हरेक १५–१५ दिनको अन्तरमा गरिने मूल्य समायोजनमा महामारी सुरु भएयताको विवरण हेर्दा एकाध पटक घटे पनि अधिकांश जसो मूल्य बढाइएको देखिन्छ।
२०७७ असार २६ गतेदेखि २०७८ जेठ २२ गतेसम्मको तथ्यांक हेर्दा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १६ पटक समायोजन भएको छ।
१६ पटक समायोजन हुँदा दुई पटक मात्रै पेट्रोलको मूल्य यथावत छ। डिजेलको मूल्य एकपटक मात्रै यथावत रहेको निगमको तथ्यांकले देखाउँछ। बाँकी सबै पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको देखिन्छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण सोहीअनुसार समायोजन गर्दा नेपाली बजारमा पनि इन्धनको मूल्य बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ।
‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारबाट प्रभावित भएको हुन्छ,’ निगमका प्रवक्ता बिनितमणि उपाध्याय भन्छन्, ‘अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दिनानुदिन बढेर गएको अवस्था छ। जसले गर्दा हामी पनि मूल्य बढाउँन बाध्य छौँ।’
उनका अनुसार विश्वमा कोभिड महामारी सुरु हुँदै गरेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १९ देखि २० अमेरिकी डलर प्रतिब्यारेल थियो। हाल बढेर ७२ डलरमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम कच्चा पदार्थ इन्डियन आयल कर्पोरेशनले खरिद गर्छ। इन्डियन आयल कर्पोरेशनले कच्चा पदार्थ खरिद गरी फाइनल प्रोडक्ट डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन, एलपी ग्याँस तयार गर्छ। इन्डियन आयल कर्पोरेशनले आफै मूल्य निर्धारण गरी इन्धन नेपाल पठाउँछ।
अन्तर्राष्ट्रिय बजारबाट ल्याइएको औषत खरिद मूल्यमा राज्यको कर, निगमको सञ्चालन खर्च, ढुवानी खर्च, काम गर्ने डिलरहरुको खर्च लगायतका सबै खर्च जोडेर नेपाल आयल निगमले पुनः मूल्य निर्धारण गर्छ।
खरिद मूल्यको अनुपात कर तथा बाँकी खर्चका आधारमा बजारमा इन्धनको मूल्य कायम गर्नुपर्ने हुँदा निरन्तर रुपमा बढाउनुपर्ने निगमको बाध्यता रहेको प्रवक्ता उपाध्याय बताउँछन्।
निगमले पछिल्लो समय पेट्रोल तथा डिजलको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गर्दा पनि निगम घाटामा रहेको उल्लेख गरिएको छ ।
‘जुन २ रुपैयाँ हामीले समायोजना गर्यौं त्यो गर्दा पनि नेपाल आयल निगमलाई अहिले १५ दिनमा ६० करोड रुपैयाँ घाटा छ। यदि यो महामारीको समय नभइदिएको भए अझै घाटा बढ्थ्यो। किनकी महामारीको समयमा त पेट्रोलियम पदार्थको खपत ५० प्रतिशत मात्रै छ,’ उनले सेतोपाटीसँग भने।
मूल्य बढाउँदा पनि प्रतिलिटर ५ रुपैयाँ ३२ पैसा पेट्रोलमा, ३ रुपैया १७ पैसा डिजेलमा तथा एलपी ग्याँसमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ४६ पैसा घाटा रहेको उनले बताए।
अघिल्लो वर्षको लकडाउनको समयपछि निमगले १५ दिनमा १ अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको जनाएको थियो। अहिले खपत कम रहेका कारण घाटा पनि कम भएको निगमको भनाई छ।
नेपालमा हरेक वर्ष पेट्रोलियम पदार्थको माग बढ्दै गएको देखिन्छ। हरेक वर्ष पेट्रोलियम पदार्थका उपभोक्ताहरु बढ्दै गइरहेका छन्। घरिघरि मूल्य बृद्धि भइरहँदा एकातिर उपभोक्ताहरु मारमा परिरहेका छन् भने अर्कोतिर निगमले आफैं वार्षिक अर्बौं रुपैयाँ घाटा झेल्दै आएको जनाएको छ।
नेपालमै पेट्रोलियम पदार्थको सम्भावना रहेको बताइए पनि त्यसमा सरकारले चासो नदेखाउँदा पेट्रोलियम पदार्थमा वार्षिक अर्बौं रुपैयाँ बाहिरिरहेको छ।
खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाको भौगर्भिक भूभौतिक अध्ययनअनुसार नेपालको दक्षिणमा रहेको तराई, भित्री मधेस तथा चुरे पर्वत शृंखलामा पेट्रोलियम पदार्थ हुन सक्ने अनुमान गरिएको छ। तर पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन भने हुन सकेको छैन।
२०७२ सालमा भारतले लगाएको नाकाबन्दीपछि पाठ सिकेको सरकारले चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन् कार्य अघि बढाएको थियो। तर त्यो परियोजना हाल अलपत्र छ।
कोरोना महामारीका कारण काम रोकिएको परियोजनाले जनाएको छ। पेट्रोलियम पदार्थ छ भनेर पत्ता लगाइएको तर कति परिणाममा छ भनेर पत्ता लगागउने काम मात्रै बाँकी रहेको परियोजनाको भनाई छ।
सो अध्ययन प्रतिवेदन दुई वर्षभित्रमा पेश गर्ने योजना रहे पनि कोभिड महामारीका कारण अझ समय लाग्न सक्ने परियोजनाका एक अधिकारीले बताए।
‘कोभिड महामारी कहिलेसम्म फैलने हो। वर्षाको समयमा त काम हुँदैन। त्यसपछि फेरि दैशैँ तिहार भन्यो। २०७८ सालमा त्यो काम हुने छाँटकाँट छैन,’ उनले भने।