सप्तरीको महादेवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ।
शुक्रबार सम्पन्न पाँचौं गाउँसभाबाट कोभिडका कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्याउने उद्देश्यले ३३ करोड ३१ लाख ८ हजार ८ सय ४ रूपैयाँ ७० पैसाको बजेट प्रस्तुत गरिएको हो।
कुल बजेटको चालूतर्फ २३ करोड ९२ लाख ८ हजार ८ सय ४ रूपैयाँ र पुँजीगततर्फ ९ करोड ३९ लाख रूपैयाँ रहेको छ।
महादेवा गाउँपालिकाको कुल आन्तरिक आम्दानी १० लाख रूपैयाँ प्रक्षेपण गरिएको गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले बताए।
कुल बजेटमा संघबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ १२ करोड १४ लाख रूपैयाँ र सशर्त अनुदानतर्फ १२ करोड ७८ लाख रूपैयाँ, राजस्व बाँडफाँटबाट ६ करोड ६१ लाख १३ हजार रूपैयाँ, पुँजीगततर्फ समपूरक अनुदान १ करोड ३९ लाख रूपैयाँ छ।
यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ ७५ लाख १४ हजार रूपैयाँ, राजश्व बाँडफाँटबाट २७ लाख ८१ हजार ८ सय ३ रूपैयाँ, विशेष अनुदानतर्फ ३० लाख रूपैयाँ र समपूरक अनुदानतर्फ २० लाख रूपैयाँ प्राप्त हुने गाउँपालिकाका अध्यक्ष यादवले बताए।
गाउँपालिकाको छ वटै वडाहरूलाई आगामी आर्थिक वर्षका लागि वडा सिलिङ अन्तर्गत ७० लाख रूपैयाँ तोकिएको छ।
आव २०७८/०७९ मा कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नति र स्वस्थ जनशक्ति विकासमा जोड दिने, कृषि क्षेत्रको विकासको लागि कृषि तथा पशुपालन क्षेत्रलाई प्रविधियुक्त, व्यवसायिक तथा सामूहिक खेती, व्यवसायिक पशुपालन, सिँचाइ सुविधाको विकास गरी कृषिलाई व्यवसायीकरण गर्ने, गुणस्तरीय र जीवनपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत स्वास्थ्य तथा खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने तथा विपद प्रभावित गाउँपालिकालाई विपद्को जोखिमबाट मुक्त गर्न कार्यक्रमहरू सञ्चालन गर्ने भनी प्राथमिकताको क्षेत्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताए।
खेतीका लागि कृषकलाई मकै बालीलाई केन्द्रित गरी निःशुल्क रूपमा मकै बिउ र उपकरण वितरण गर्ने, विद्युतीकरणका लागि तार, पोल, ट्रान्सफर्मर गाउँपालिकाबाटै जडान गरिने प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए।
कोभिड-१९ का लागि नेपाल सरकारले तोकेबमोजिम क्वारेन्टिन तथा आइसोलेसनलाई सुविधा सम्पन्न बनाउन समेत आवश्यक बजेट व्यवस्थापन गरिने भएको छ।
यसैगरी कोभिडका कारण ज्यान गुमाएका विपन्न परिवारलाई दाहसंस्कार खर्च बापत २५ हजार नगद दिइने, कोभिड-१९ संक्रमित व्यक्तिलाई अस्पतालसम्म आवतजावत निःशुल्क एम्बुलेन्सको व्यवस्था, आवश्यक औषधीका साथै घरदैलो परामर्श सेवा, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिने प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए।
कर्मचारीहरूको पेशागत सुरक्षाका लागि कर्मचारी कल्याणकोष स्थापना गरिने र सोको कार्यान्वयनको लागि आवश्यक कार्यविधि बनाइने नीति लिइएको छ।
पाँचौं गाउँसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ।
गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।