नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन्।
गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए।
उनका स्वकीय सचिव मोहन गौतमका अनुसार स्वास्थ्यलाभपछि अध्यक्ष नेपाल आज घर फर्केका हुन्।
चिकित्सकहरूले अध्यक्ष नेपाललाई केही दिन घरमै आराम गर्न भनेका छन्।
अध्यक्ष नेपाललाई ज्वरो र खोकीलगायत समस्या देखिएको थियो। उनलाई कोरोना परीक्षण गरे पनि नेगेटिभ आएको थियो।
अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरेका थिए।