संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो।
वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो।
समितिले सो भवनलाई पुनर्निर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए।
त्यस्तै, समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरूलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए।
उनले भने, ‘विशेष गरेर दुइटा नयाँ पुस्तकालय भवन निर्माण हुँदैछ। त्यसका विषयमा छलफलहरू हामीले पहिला पनि गर्दै आएको हो र निर्देशन पनि दिइराखेका थियौं। र त्यहाँ केही विषयहरू मिलेको छैन भनेर भनिएको थियो। त्यो मिलाउनका निमित्त केही नयाँ ढंगले निर्णय पनि भएको रहेछ, व्यवस्थापन भएको रहेछ। आज पनि परिमार्जित गर्न सकिने विषयहरूलाई परिमार्जित गर्नका निमित्त फेरि पनि निर्देशन दिने निर्णय भएको छ र अर्कोतिर हामीले पुरानो संसद भवन सिंहदरबारभित्रको २०१६ सालमा निर्माण भएको सिंहदरबार भित्रको पुरानो भवन भूकम्पका कारणले केही क्षति भएको छ। यसलाई फेरि पुनर्निर्माण होइन कि रेट्रोफिट गरेर फेरि एउटा भवनलाई बचाउनको निमित्त सबैसँग छलफल गरिराखेका छौँ। यो समितिले सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरूलाई बोलाएर उहाँहरूलाई यही निर्देशन दिएका छौं।’
बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले पुस्तकालयलगायत संघीय संसदका भवनहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९, १६:२९:०२