नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई जना सरकारी वकिलले दिनभरी बहस गरेका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो। इजलाशले यस प्रकरणमा बहस गर्न तीन दिन छुट्याएको थियो।
जसअनुसार आइतबार दुई जना सरकारी वकिलले मात्रै बहस गरेका हुन्। सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्री र जनकप्रसाद घिमिरेले बहस गरेका हुन्।
आफूहरूले अदालतमा पेश गरेका प्रमाण, तथ्य नै अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा बढाउन पर्प्याप्त भएको उनीहरूको जिकिर थियो।
सोमबार र मंगलबार पनि सरकारी वकिलले नै बहस गर्ने तयारी छ। त्यसपछि अर्को मंगलबार सम्म भने प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्।
यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जनलाई पक्राउ परेका छन्।
उनीहरू सबै जनाको गत शुक्रबार बयान लिन सकाएको थियो। बयान सकेसँगै आजबाट थुनछेक बहस सुरू भएको हो।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।
फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।
प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।