नेपाल पत्रकार महासंघले शान्तिपूर्ण आन्दोलनका सहभागीलाई बर्बर आक्रमण गरेकोमा विरोध गरेको छ।
सोमबार लेखक नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई लाठीचार्ज र पानीको फोहरा हानेको थियो।
प्रतिनिधि सभा विघटन विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी रहेकाहरूलाई प्रहरीले बर्बर आक्रमण गरेकोमा पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर नागरिक आन्दोलन र मानव अधिकारकर्मी लगायतलाई प्रहरीले लाठी र पानीका फोहरा हानेको उल्लेख गरेका छन्।
‘प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘माघ १२ गते नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानव अधिकारकर्मी पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा दर्जनभन्दा बढी घाइते भएका थिए।’
महासंघले प्रहरीको दमनलाई स्वतन्त्रता विरोधी कार्यसमेत भनेको छ।
‘शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य हो। प्रहरीको यो बर्बर दमनले नागरिकको हक अधिकारमाथि समेत गम्भीर आघात पुगेको महासंघको ठहर छ,’ उनले भनेका छन्, ‘महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ। संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ। साथैः आगामी दिनमा यस्ता दमनकारी कार्य नदोर्याउन सरकारलाई चेतावनीसमेत दिन चाहन्छ।’