शुक्रबार गृह मन्त्रालयले ६ जना एसएसपीको सरूवा गरेको छ।
गृहले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखसहित ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरूवा गरेको हो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई राष्ट्रिय सुरक्षा परिषदमा सरूवा गरिएको छ। उनको ठाउँमा सानुराम भट्टराई आएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई केन्द्रीय कार्यालयको अपराध अनुसन्धान विभागमा तानिएको केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी वसन्त रजौरेलाई पठाइएको छ। रजौरे र भट्टराई यसअघि केन्द्रीय प्रहरी कार्यालयमा थिए।
त्यस्तै, कोशी तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ। कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई केन्द्रीय कार्यालय तानिएको प्रवक्ता ढकालले जानकारी दिए।
शुक्रबारै प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंह चन्दलाई पनि गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा सरूवा गरिएको छ। उनले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।