स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा कायम रहेको जनाएको छ।
मन्त्रालयका एक अधिकारीले डा. गौतमलाई थापाथलीस्थित प्रसूति गृहमा पठाउने भनेर गरिएको निर्णय यथावत् रहेको जानकारी दिए।
उनले सरूवा पत्र नरोकिएको भन्दै डा. गौतमको नाममा पत्र गइसकेको बताए।
'पत्र रोकिएको हैन। सरूवाको निर्णय भएको हो। यहाँबाट पत्र पनि गएको छ। सायद उहाँले नबुझ्नु भएको होला,' ती अधिकारीले भने।
मन्त्रालयले डा. गौतमका ठाउँमा डा. भूपेन्द्र बस्नेतलाई पठाउने निर्णय गरेको छ। तर डा.गौतमको सरूवाको विषय आज दिनभर अन्यौल भएको थियो।
डा. गौतमले पनि आफूले सरूवाबारे मौखिक जानकारी पाए पनि पत्र भने नपाएको बताएका थिए। सोही कारण उनी आज पनि युनिफाइड अस्पतालमै हाजिर भएका थिए।
गत माघ १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशबाट डा. गौतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व दिएको थियो। त्यसअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रवक्ता थिए।
मन्त्रालयमा प्रवक्ता हुनुअघि उनी प्रसूति गृहमै निर्देशकको रूपमा कार्यरत थिए।