महोत्तरीमा बोक्सी भन्दै एक महिलाको हत्या भएको खुलेको छ।
महोत्तरी गाउँपालिका ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई आफ्नै देवरले गएको बिहीबार हतौडा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका शिलाका देवर ४२ वर्षीय संजय झालाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सोनापडामा ज्याला-मजदुरी गर्दै बसेका झा गत बुधबार राति साइकल चढेर घर पुगेका थिए। राति उनी त्यहीँ बसे। बिहानै करिब ३ बजेतिर शिला सुतिरहेकै स्थानमा संजयले उनको टाउकोमा हतौडा प्रहार गरी ज्यान लिएको महोत्तरीका एसपी दिनेश अचार्यले जानकारी दिए।
हत्या गरेलगत्तै उनी जनकपुर फर्केका थिए। शिलाले दिएको केरा खाएर आफ्नी श्रीमतीको गर्भ तुहिएको आरोप लगाउँदै, रिसको झोंकमा संजयले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।
श्रीमतीको गर्भ तुहिएपछि संजय श्रीमतीकै हजुरआमाको जनकपुरस्थित घरमा बस्न गएका थिए। संजयले प्रहरीलाई दिएका बयान अनुसार उनकी श्रीमतीले बेलाबेलामा मुखबाट फिँज निकाल्ने र बिरामी भई रहन्थिन्। अस्पतालमा जाँच गराउँदा पनि सुधार हुन सकेको थिएन।
‘डेढ महिना अगाडि उनीहरूले झाँक्री लगाएका रहेछन्। संजयकी श्रीमती कामेकी रहिछन्। त्यो क्रममा उनले आफूलाई शिलाका मृतक माइला छोरा हुँ, शिलाले आफ्ना श्रीमान र आफूलाई टुनामुना गरी मारेको भन्दै अब संजयकी श्रीमतीलाई समेत मार्ने भनेकी रहिछन्,' एसपी आचार्यले संजयको बयान उद्धृत गर्दै भने।
त्यसपछि शिलाले दिएको केरा खाएकै कारण श्रीमतीको गर्भ तुहिएको मानसिकता बनाएर संजयले उनको हत्याको योजना बनाएको पनि आचार्यले जानकारी दिए।
एसपी आचार्यका अनुसार संजयले शिलालाई १२ लाख ३९ हजार रुपैयाँ सापटी रकम समेत दिएका थिए।
‘पटक– पटक फिर्ता माग्दा पनि पैसा पाएका रहेनछन्। भाउजूलाई मारेपछि मात्र आफ्नो परिवार
सुरक्षित हुन्छ भन्ने अन्धविश्वासका कारण हत्या भएको हो,’ उनले भने।