जाजरकोटमा भएको बस दुर्घटनाका ११ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।
घाइते मध्ये मध्यम अवस्था भएका आठ जनालाई गाडीमा नेपालगञ्ज लगिएको छ भने तीन जनालाई हेलिकप्टरमार्फत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट मगाएर घाइतेहरुलाई नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख मधुकुमार थापाले जानकारी दिए।
आइतबार बिहान २ बजेर ३५ मिनेटमा नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस जाजरकोट सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता भेरी नगरपालिका-१३ कुदु नजिकै बाराखोलामा दुर्घटनामा परेको थियो।
शनिबार राति नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिका-५ कि २४ वर्षीय सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका- १० का शेरबहादुर परियार, कुशे गाउँपालिका- ९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको छ।
दुर्घटनामा चालकसहित २८ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जना जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि डिस्चार्ज भएको डिएसपी थापाले बताए।