भक्तपुरमा गाईजात्रा पर्व बिहानैदेखि सुरू भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भव्य रूपमा मनाइँदै छ।
तलेजु स्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरू भएको हो।
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मा शान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको हो।
भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन्। बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ।
भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन्।
आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ।
तस्बिरहरू: