भारतको आइ-लिग टिम पञ्जाव फुटबल क्लबले किरण लिम्बूलाई कप्तानको जिम्मेवार दिएको छ।
बिहीबार गोकुलम केरला एफसीविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका किरणले पञ्जावको कप्तानी गरेका हुन्।
किरणले कप्तानको जिम्मेवारी पाएको खेलमा पञ्जाव भने पराजित भएको छ। पहिलो हाफमा २ गोलको अग्रता लिए पनि पञ्जावलाई केरलाले ४-३ गोलले पराजित गर्यो।
खेलको १७ मिनेटमा चेन्चोको गोलबाट पञ्जावले अग्रता लियो। २५ मिनेटमा चेन्चोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे।
दुई मिनेटपछि करेलाले गोल फर्कायो। करेलाका फिलिपले २७ मिनेटमा गोल गरे।
पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा पञ्जावले तेस्रो गोल गरेको थियो। उसका रुपर्ट नोन्ग्रुमले चेन्चोको पासमा सुन्दर गोल गरे।
५२ मिनेटमा केरलाले पेनाल्टी पाएको थियो। जसमा एन्टुइको पेनाल्टीलाई पञ्जावका गोलकिपर किरणले विफल पारिदिए।
६९ मिनेटमा एन्टुइले गोल गर्दा खेल ३-२ को अवस्थामा पुग्यो। ७२ मिनेटमा एन्टुइले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-३ को बराबरीमा आएको थियो।
७५ मिनेटमा केरलाका अन्वरले चौथो गोल गर्दा केरला ४-३ ले अघि बढ्यो।
अघिल्लो खेलमा पञ्जावले आइजोललाई १-० गोलले पराजित गरेको थियो।