युरो २०२० अन्तर्गत शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल पहिलो हाफमा रोकिन पुग्यो।
घरेलु टिम डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेका थिए। खेलको ४१ मिनेटमा मैदानमा लडेपछि उनी अचेत भएका थिए।
सहकर्मीले गरेको थ्रो बल उनको स्थानमा आइपुग्नुअघि उनी मैदानमा ढलेका थिए।
लगत्तै मैदानमै उपचार भएको थियो। करिब १५ मिनेट मैदानमा उपचार भएपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो। त्यतिबेलासम्म उनको होस आएको थिएन।
उनको होस नआएपछि संसारभरका फुटबलप्रेमीले उनको स्वास्थ्यलाभको कामना गरेका थिए।
त्यसपछि उनलाई नजिककै अस्पतालमा लगिएको थियो। अस्पताल लाने क्रममा उनको होस आएको बताइएको छ।
मैदानमै अचेत भएर ढलेपछि खेल रोकिएको थियो। दुवै टिमका खेलाडीहरु ड्रेसिङ रुममा गएर एरिक्सनको स्वास्थ्यलाभको कामना गरेका थिए। त्यसपछि आयोजक युइएफले दुवै टिमका खेलाडीसँग छलफल गरेको थियो।
छलफलकै दौरान एरिक्सनले डेनमार्कको टिमसँग भिडियो कल गर्दै खेल सुचारु गर्न भनेका थिए। त्यसपछि खेल सुचारु भएको थियो।
डेनमार्क फुटबल एसोसिएसनका अनुसार एरिक्सनको स्वास्थ्य अहिले स्थिर रहेको छ।
साढे एक घन्टापछि सुचारु भएको खेलको पहिलो हाफमा बाँकी चार मिनेट खेलाइएको थियो। त्यसपछि ब्रेकको रुपमा पाँच मिनेट समय दिएपछि दोस्रो हाफ सुरु भएको थियो।
खेलमा डेनमार्कमाथि नवप्रवेशी टिम फिनल्यान्डले १-० गोलको जित निकाल्यो।
फिनल्यान्डको जितमा पोहान्पालोले ५९ मिनेटमा गोल गरे।
डेमनकार्काले ७४ मिनेटमा पाएको पेनाल्टी मिस गर्यो। डेनमार्कका इमिल होएबिएरको प्रहार लुकास ह्राडेच्कीले विफल पारेका थिए।