भारतमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालका बैंकहरुमा ७ करोड पुराना भारु नोट रहेको बताउँदै ति नोट सटहीका लागि भारतले चासो नदिएको बताएका छन्।
भारतको विदेश मन्त्रालयसँग अब्जर्वर रिचर्स फाउन्डेसनले गरेको संवादका क्रममा मन्त्री ज्ञवालीले पुराना नोट सटहीका लागि आफूहरुले आग्रह गरिरहेको उल्लेख गरे। भारत प्रत्येक्ष वैदेशिक लगानीको प्रमुख राष्ट्र भएको बताउँदै मन्त्री ज्ञवालीले भारु नोट सटही नहुँदा समस्या थपिएको उल्लेख गरे।
‘यो समस्या सुल्झाउनका लागि भारतसँग आग्रह गरिरहेका छौँ’ ज्ञवालीले भनेका छन् ‘नेपालको बैंकिङ प्रणालीमा रहेको ७ करोड रुपैयाँ बराबरको नयाँ भारु मिलोस्।’ सर्वसाधारणसँग योभन्दा धेरै भारतीय नोटहरु भएको उनले बताए।
हालै नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकलाई ति पुराना नोटहरुको सटही गर्न आग्रह गरेको छ। साथै दुई सय, पाँच सय र दुई हजारका नयाँ नोट सटही गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। भारतले नयाँ नोट सटही गरिदिने सुनिश्चितता नगरेपछि सरकारले ति नोटहरु हाल प्रतिवन्ध गरेको छ। सर्वसाधारणलाई जोखिम नहोस् भन्ने उद्देश्यले ति नोटहरु प्रतिबन्ध गरिएको हो।
भारतसँग ठूलो व्यापार सम्वन्ध तथा रोजगारीको सम्वन्ध रहेकाले भारु नोट सटही हुनुपर्नेमा ज्ञवालीले जोड दिएका छन्। साथै उनले नेपाल र चीनको सम्वन्धलाई भारतले कुनै समस्याका रुपमा हेर्न नहुनेमा जोड दिए।