ज्योति विकास बैंकको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
मंगलबार आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती लगायतका नियमित प्रस्तावहरु बाहेक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनको कार्यक्रम रहेको थियो।
उक्त निर्वाचनसम्बन्धी प्रस्तावमा जम्मा एक जना शेयरधनी, मन महर्जनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका छन्।
आ.व. २०७५/७६ को नाफा नोक्सान बाँडफाँड हिसाब मार्फत् १२.७५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव लगायत अन्य सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतले पारित भएको ज्योति विकास बैंकका कम्पनी सचिव तथा सूचना अधिकृत पारस राज कँडेलले जानकारी दिए।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राखेर शेयरधनीहरुलाई उचित लाभांश दिने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृतले शेयरधनीहरुको जिज्ञाशाको जवाफ दिने क्रममा बैंकले तय गरेको उद्देश्य, तथा आधारभूत मूल्य मान्यताहरुमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरु अघि बढाएको उनको भनाइ थियो।