कोरोनाको असर रेमिट्यान्समा देखिन थालेको छ। नेपाल भित्रिने रेमिट्यान्स ०. ५ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको साउनदेखि माघसम्मको वित्तीय विवरणअनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ०. ५ प्रतिशतले घटेको हो।
अघिल्लो महिनासम्म अर्थात साउनदेखि पुससम्म रेमिट्यान्स आप्रवाह ०. ९ प्रतिशतले बढेको थियो। तर एक महिनाकै अन्तरमा रेमिट्यान्सको आप्रवाह वृद्धिदर नेगेटिभ भएको छ।
चालु आर्थिक वर्षको सात महिनामा कुल ५ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको तुलनामा ०. ५ प्रतिशतले कमी हो। गत वर्ष यसै अवधिमा रेमिट्यान्स २८ प्रतिशतले बढेको थियो।