सेयर कारोबार हुने ब्रोकर कार्यालयका स्क्रिन बन्द हुने भएका छन्।
कोरोनाभाइरस संक्रमण रोक्ने उद्देश्यले यसअघि सरकारले २५ जनाभन्दा बढी संख्यामा भीड हुने स्थलहरु बन्द गर्ने निर्णय गरेको थियो।
ब्रोकर कार्यालयमा पनि भीडभाड हुने भएकाले कारोबार देखिने स्क्रिन बन्द गरिने भएको हो।
ब्रोकर कार्यालयका स्क्रिन बन्द हुने भएपनि सेयर कारोबार भने रोकिने छैन।
लगानीकर्ताले घरमै बसेर अनलाइनमार्फत सेयर कारोबार गर्न सक्नेछन्। त्यस्तै ब्रोकर कार्यालयमा अर्डर दिन सक्नेछन्। तर ब्रोकर कार्यालयमा समूहमा बसेर लाइभ हेर्न पाउने छैनन्।
एक सूचना जारी गर्दै धितोपत्र बोर्डले ब्रोकर कार्यालयमा कर्मचारी तथा लगानीकर्ता प्रवेश गर्दा अनिवार्य स्यानिटाइजर र मास्कको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
एक पटकमा पाँच जनाभन्दा बढी भीड नहुनेगरी ग्राहकको व्यवस्थापन गर्न बोर्डले आग्रह गरेको छ।