खुलेको एक घण्टा नपुग्दै सेयर बजारको परिसूचक नेप्सेमा सर्किट ब्रेक लागेको छ। ११ बजे खुलेको बजारमा ११ बजेर ३९ मिनेट जाँदा सर्किट लागेको हो।
परिसूचक २४. ५८ अंक अर्थात २ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको हो। योसँगै बजारको परिसूचक १२०१ अंकमा कायम भएको छ। हाल २ प्रतिशत बजार घटे वा बढे सर्किट लाग्ने व्यवस्था गरिएको छ।
कारोबार रकममा व्यापक गिरावट आएको छ। अघिल्लो दिन १० करोडको कारोबार भएकोमा यस दिन ३६ लाखको किनबेच भयो।
सबै उपसमूहहरु घटेका छन्। बैंकिङ २५, व्यापार १२, होटल ३, विकास बैंक ७, जलविद्युत १८, फाइनान्स ३, निर्जीवन बीमा ५७, उत्पादन ३४, अन्य १८, माइक्रोफाइनान्स २३ र जीवन बीमा समूह १२९ अंकले घटेका छन्।
कारोबार भएका सबै कम्पनीको मूल्य घटेको छ। लक्ष्मी बैंक, तारागाउँ रिजेन्सी, नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त, नाडेप लघुवित्त, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, नेपाल इन्स्योरेन्स, स्टान्डर्ड चार्टड तथा शिवम् सिमेन्टको मूल्य ३ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको ८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भयो।