हालै नविल बैंकले जेनएन एकाउन्ट सञ्चालनमा ल्याएको छ। खासगरी १८ वर्षमाथिकालाई लक्षित गर्दै बैंकले ल्याएको योजना कस्तो हो ? बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको भनाइ-
अहिले कोरोना भाइरसको कारणले लकडाउनकै चरणमा छौं। वित्तीय क्षेत्रलाई जतिसक्दो डिजिटल बनाउने यो अवसर पनि हो।
कुनै नराम्रो पक्षबाट पनि केही कुरा सिकिन्छ भनेजस्तै यो कोरोना र लकडाउनमा राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत सबै बैंक मिलेर आउने दिनहरुमा गर्ने भनेकै डिजिटल कारोबार नै हो, तयारी भइसकेको छ।
जे गरे पनि राम्रोबाट अगाडि बढ्नु पर्यो। रिस्क छ, त्यससँग पनि जुधेर अगाडि बढ्ने सोच्नु पर्छ। डिजिटललाई बढाउनुपर्छ भनेर त हामी सबै जना क्लियर छौं यसमा द्विविधा छैन।
त्यसमै टेवा पुर्याउने उद्देश्यले नविल बैंकले अहिले जेन–एन एकाउन्ट सञ्चालनमा ल्याएको छ। सकेसम्म मानिसलाई नभेटी काम गरौं भन्ने भइरहेको हुनाले हामीले जेनएन एकाउन्ट सञ्चालनमा ल्याएका हौँ।
योभन्दा अघि हामीले कर्पोरेट बैंकिङको लागि एउटा प्रोडक्ट निकालेका थियौं। यसमा इन्टरनेटबाटै कर्पोरेट कस्टमरले सेवा लिन सक्नुहुन्छ।
युवाहरुलाई कसरी खाता खोल्न आकर्षित गर्ने भनेर अध्ययन गरेपछि हामीले के पायौं भने युवाहरुले जे पर्दा पनि अलि चाँडो गर्न खोज्नु हुन्छ। टेक्निकल्ली रुपमा पनि युवाहरु अगाडि हुनुहुन्छ।
त्यसैले हामीले उहाँहरुलाई लक्षित गर्दै जेनएन एकाउन्ट सञ्चालनमा ल्याएका हौं। सुरक्षाका दृष्टिले घरमै बसी कम्युटरबाट सर्वसाधारणले यो खाता खोल्न सक्नुहुन्छ। यो बचत खाता हो। यसमा ४ प्रतिशत उच्च ब्याजदर दिइन्छ।
खोलिसकेको खातामा उहाँहरुले पैसा ट्रान्फर गर्न चाहनुहुन्छ भने एक पटक पनि बैंक आउनु पर्दैन। हाम्रो मोबाइल एपबाट पनि कारोबार गर्न सक्नुहुन्छ।
हाम्रो सबै बचत खातामा पाइने इन्स्योरेन्स सेवा यसमा पनि छ। विभिन्न घातक रोगको इन्स्योरेन्स कभरेज गरी याे एकाउन्टलाई अगाडि बढाएका छौं।
घातक रोग भन्नाले क्यान्सरदेखि हर्ट अट्याकसम्म इन्स्योरेन्स कम्पनीहरुले नै व्याख्या गरेका रोगहरु पर्छन्। यस्ता रोग अहिले जुन उमेर समूहलाई पनि हुनसक्छ।
यो खाता खोल्नेलाई धरैजस्तो डिजिटल कारोबार गर्ने मनी ट्रान्सफर, फन्ड ट्रान्फर लगायत सबै फ्री गरेका छौं। त्यो सँगसँगै दुई जिबीको डाटा फ्री गरेका छौं।
यो सेवाको लञ्ज पनि कागजबाट भन्दा सामाजिक सञ्जालबाटै गरी प्रोत्साहन दिएका छौं।
हाम्रो भनाइ के हो भने कुनै पनि युवाको खाता छैन भने अहिले खोलेर सुरु गरौं। घरमै बसेर कम्प्युटर वा फोनबाटै खोल्न सकिन्छ। हामीले यो सुरुआत गरेको केही दिन मात्रै भएको छ र रेस्पोन्स पनि राम्रो आएको छ। युवाहरुमा बचत कल्चर ल्याउन प्रोत्साहन गर्ने पनि हाम्रो उद्देश्य हो।
साधारण मानिसले खाता खोल्ने कसरी?
हाम्रो वेवसाईटमा गएर जनरल एकाउन्टमा गई क्लिक गरिसकेपछि अरु खातामा जस्तै अनलाइन फारम भर्न सकिन्छ। लकडाउनपछि आवश्यक डकुमेन्ट बुझाउन सकिन्छ।
तर अहिले अनलाइनबाट खाता खोलेर डिपोजिट पनि गर्न सकिन्छ। अहिलेको लकडाउन कति दिन हुन्छ निश्चित छैन। यस्तो समयमा नयाँ खाता किन नखोल्ने भनेर हामीले यो योजना ल्याएका हौं।
किन युवाहरुलाई बढी जोड?
युवा पुस्ता मोर एडभान्स पनि हुनुहन्छ, सँगसँगै युवहरु नयाँ काम गर्नेमा अलि बढी इच्छुक पनि हुनुहुन्छ। पछि गएर यो सेवा सबैलाई हुन सक्छ।
अठार वर्ष भन्दा माथि उमेर समूहकाले खोल्दा हुन्छ। हाम्रो टार्गेट युवाहरुलाई नै हो किनभने उहाँहरु टेक्नोलोजी अलि बढी फ्रेन्डली हुनुहुन्छ।
राष्ट्र बैंकले तोकेको केवाइसी पुरा हुन्छ त यसरी?
अहिलेको लागि हामीले बोर्डबाट अप्रुभल पनि लिएका छौँ। अहिले टेम्पोररी केवाइसी भन्छौं, यसमा एक लाखसम्मको कारोबार गर्न सक्ने सुविधा छ।
अरु केवाइसी विवरणका लागि लकडाउनपछि फेरि ग्राहकलाई सम्पर्क गरेर आवश्यक डकुमेन्टहरु मगाउँछौं।
कसैलाई अहिले नै मेरो खाता भएको भए कति राम्रो हुन्थ्यो होला म यसबाट वञ्चित भएँ भन्ने महसुस नहोस् भन्ने धारणाले यो खाता संचालनमा ल्याएका हौं।
खाता खोलेपछि कार्ड लिनै पर्छ भन्ने छैन किनभने अहिले त मोबाईल एप छ। फोनपेबाट धेरै ट्रान्जेक्सन छ अहिले। कार्ड चाहियो भने नर्मल प्रोसेस हो, यही बन्छ त्यसका लागि पिक अप गर्नुपर्यो सम्बन्धित ब्रान्चबाट लिन सकियो।
अब डिजिटल भनेर कार्डमा मात्रै सीमित रहने होइन मोबाईल एपहरु वा इन्टरनेटबाट नै गर्ने हो।
डिजिटल कारोबारमा सबै निकायहरुले आफ्नै दृष्टिकोणबाट हेरिरहनु भएको होला। यो अलिकति नयाँ पनि भएको हुनाले सर्वप्रथम यो रिस्की छ, यो गर्नु हुँदैन भन्नेतिर नलागौं।
बैंक खोलेपछि कसैले बन्दुक ल्याएर चोरी गर्ला भनेर बैंक नै नखोल्ने भन्ने त भएन निरु गार्ड राख्नु पर्यो सिसिटिभी राख्नु पर्यो भनेजस्तै डिजिटलमा पनि सेक्युरिटीहरु चाहिन्छ भनेर प्रष्ट हुनु पर्यो। सेक्युरिटी नराखी कुनै पनि सेवा लञ्च गरियो भने जुन निकायले गरे पनि सबैलाई नकारात्मक असर पर्छ।
अहिले भारतमा भर्चुअल केवाइसीको सुविधा छ। हामी पनि त्यहाँसम्म जान सकिन्छ। निजी क्षेत्रको कुनै बैंकले मात्र गरेर हुँदैन। यसमा राष्ट्र बैंकको पनि ठूलो भूमिका हुन्छ।
मेरो विचारमा यो सेवालाई अघि बढाउन नेपाल राष्ट्र बैंकको डिजिटल सेक्टरका कर्मचारी र बैंकहरु बसेर कुरा गर्नुपर्नेछ।
जस्तै ब्रान्च खोल्दा के के चाहिन्छ, लोन दिंदा के कस्ता डकुमेन्ट, विवरण चाहिन्छ, हामीलाई स्पष्ट थाहा छ यो वर्षौंदेखि गरिराखेका छौं।
तर डिजिटल्ली बनाउन अहिले नत हामीलाई अनुभव छ, न राष्ट्र बैंकलाई। डिजिटल सेक्सनमा काम गर्ने साथीहरुसँग बसेर यसको गृहकार्य गर्नुपर्छ।