सेवा क्षेत्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ। यस क्षेत्रको प्रमुख पूर्वाधार मध्येको तारे होटलको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको हो।
संघीय संसद्मा अर्थमन्त्रीले पेश गरेको आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार चालु आवको आठ महिनामा तारे स्तरको होटल संख्या १२५ पुगेको छ। अघिल्लो आव २०७३/७४ मा १२० थियो।
तारेस्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आव २०७३/७४ सम्म ९४२ रहेकामा चालु आवको प्रथम आठ महिनामा ९७७ पुगेको छ। यही अवधिमा २५१ घरबास कार्यक्रम ‘होमस्टे’ सञ्चालनमा रहेका छन्।
तारे स्तरका होटलको शय्या संख्या आव २०७३/७४ मा १० हजार ७७ भएकामा चालु आवको प्रथम आठ महिनासम्ममा १० हजार ६९७ पुगेको छ।
आर्थिक सर्वेक्षणअनुसार तारे होटलबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शय्या संख्या चालु आवको प्रथम आठ महिनासम्ममा २९ हजार १३६ पुगेको छ। सोअनुरुप चालु आवको प्रथम आठ महिनासम्ममा पर्यटकस्तरीय होटलको संख्या एक हजार १०२ र शय्या संख्या ३९ हजार ८३३ रहेको छ।
गत आवमा पाँच क्यासिनो सञ्चालन भएकामा चालु आवको प्रथम आठ महिनामा दुई क्यासिनो थप भई हाल सात क्यासिनो र चार मिनीक्यासिनो सञ्चालनमा रहेका छन्। रासस