भियतनाम भ्रमणमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर जाने भएका छन्। भियतनाम र कम्बोडिया भ्रमणमा जाँदा ओलीले राष्ट्रिय ध्वजाबाहकको जहाज लिएर जाने नेपाल एयरलाइन्सका साहयत प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
बैशाख २६ गते नेपाल एयरलाइन्सको एयरबस ए३२० जहाजबाट विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छन्। भियतनामको स्थानीय समयअनुसार उक्त हाज भियतनामको हनोइ इन्टनेशनल विमानसथलमा बेलुका चारबजे अवतरण गर्ने छ।
ओलीलाई हनोइनमा छोडेर नेपाल एयरलाइन्सको जहाज भने काठमाडौं फर्किने छ। नेपाल आउँदा प्रधानमन्त्री बैंकक हुँदै नेपाल एयरलाइन्सको नियमित उडानमा आउने कार्यक्रम रहेको एयरलाइन्सले जानकारी दिएको छ।
चार्टर्ड भाडा ३५ हजार डलर भाडा लाग्ने बताइएको छ।
भियतनामले वैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो। यसपालि जेठ ४ गते बुद्धजयन्ती छ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको छ।
यसअघि भियतनामसँग सन् २०१५ मा हवाइ सम्झौता भएको थियो। सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन। भैरहवाको गौतम वुद्ध विमानस्थलमा भियतानमबाट चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन हुन लागेको हो।
भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको पनि औपचारिक भ्रमण गर्नेछन्।
बुद्ध धर्मालम्बी बहुल यी दुई देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण बिरलै हुने गरेका छन्।