अमेरिकाको न्युयोर्कमा नेपाली ढाका पहिरनमा आधारित ‘फेसन शो’ हुने भएको छ। अगष्ट १७ मा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ कार्यक्रममा नेपाली ढाकाको ‘शो’ हुने भएको हो।
कार्यक्रममा ढाका डिजाइनर कल्पना योङहाङ लिम्बूले डिजाइन गरेको नेपाली ढाका पहिरन कार्यक्रमको विशेष आकर्षण बन्नेछ।
विदेशम हुने सांस्कृतिक पहिरन ‘शो’मा नेपालको परम्परागत व्यवसाय ढाका कपडामा तयार पारिएको पहिरन लगाउने भएपछि त्यसको जिम्मेवारी आफूले पाएको कल्पनाले बताइन्।
आफूले डिजाइन गरेको ढाका अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा पहिलो पटक पुगेको कल्पना बताउँछिन्।
‘ढाका कपडा चिनाउन व्यक्तिगतरूपमा क्यानडा, जापान, अमेरिका लगायत धेरै एसियाली र युरोपेली देश पुगेँ। तर यसरी अन्तराष्ट्रिय कार्यक्रममा ढाका कपडाको माग आएको पहिलो पटक हो’, उनले भनिन्।
यो कार्यक्रमले नेपालको ढाका कपडालाई विश्व बजारमा चिनाउनको निम्ति थप सहयोग पुर्याउने उनको अपेक्षा छ।
उक्त कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका मोडलहरूको भेला हुने छ। कार्यक्रममा नेपाली मोडल १७ जनाले ‘सांस्कृतिक पहिरन शो’ मा भाग लिंदै छन्।
२०१८ मिस नेपाल श्रृङ्खला खतिवडा, २०१० मिस नेपाल सदिक्षा श्रेष्ठ लगायत अन्य गायकहरू पनि कार्यक्रममा जाने भएका छन्।
ढाका डिजाइनर कल्पनाको ‘द हाइल्याण्ड आर्ट’ कम्पनी अमेरिकाको टेक्सासस्थित टिसा कम्पनीसँग जोडिएको छ। टिसासँग मिलेर उनले ढाका व्यवसाय फैलाएकी छन्।
यसै कम्पनी मार्फत उनले नेपाली ढाकाको डिजाइन गरेर ड्रेस पठाउन लागेकी हुन्।
कल्पनाको बौद्धमा ’कल्पना ढाका बुटिक’ छ। बुटिकमा परम्परागत दौरा सुरूवालदेखि आधुनिक डिजाइनका कपडा पाइन्छन्। फिल्मका कलाकारदेखि मिस नेपालसम्मका लागि उनी ढाकाका पहिरन डिजाइन गर्दै आएकी छन्।
जति देशमा नेपाली बस्छन् त्यति नै देशमा कल्पनाले डिजाइन गरेको ढाका उपहारको रूपमा विदेश पुगेको छ। युवा पुस्ताको रोजाइ लेहेंगा(चोली, वानपिस, कोट, साडीदेखि जुत्ता चप्पलसम्ममा उनी ढाकाको डिजाइन दिन्छिन्।
उनले अमेरिकाको एरिजोना सिटीको ‘टक्सन मल’ मा ‘कल्पना ढाका शोरूम’ खोलेकी छन्।