हामीले ब्युटीपार्लरमा विभिन्न प्रकारका कपाल देख्न सक्छौं। नाटक गर्दा प्रयोग हुने दाह्री, जुँगा र आइब्रो पनि कृत्रिम रौँबाट नै बनाइने हो। बजारमा लुगा शो गर्न लगाउने डमीमा पनि कपाल लगाइदिएको हुन्छ।
ती कपाल तथा कृत्रिम रौं बनाउन प्रयोग गरिने कच्चा पदार्थ विभिन्न २६ मूलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क हेर्दा सबैभन्दा बढी चीन र भारतबाट आयात भएको देखिन्छ।
आर्थिक वर्ष २०७५/०७६ मा १ करोड १६ लाखको कपाल तथा कृत्रिम रौं बनाउन प्रयोग गरिने कच्चा पदार्थ आयात भएको विभागको तथ्याङ्कले देखाएको छ।
यो आव २०७४/०७५ को तुलनामा करिब २० लाखले बढी हो। आव ०७४/०७५ मा ९६ लाख भन्दा बढीको कपाल तथा रौं बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात भएको छ।
कपाललाई फेसनको रूपमा मात्र नभई उद्योगको रूपमा हेर्ने हो भने करोडौं कमाउन सकिने ब्युटीसियन शान्ता थापा बताउँछिन्।
‘कृत्रिम कपालको सबैभन्दा बढी ब्युटीपार्लरमा प्रयोग हुने गर्दछ। कपाल उत्पादनलाई उद्योगको रूपमा लैजाने हो भने करोडौं रूपैयाँ बाहिरीनबाट बच्छ’, उनले भनिन्।
उनका अनुसार अहिले पार्लरमा ४/५ वटा कपालको त्यान्द्रोको १ सय रूपैयाँले किन्नुपरेको छ। त्यो सबै बाहिरबाट आउँछ। विदेशीले यहाँ आएर कपाल बनाउने काम गरिरहेका छन्। त्यस्तो मेसिन किन्नलाई सरकारले सहुलियत दिए नेपालमै बनाउन सकिने थापको भनाइ छ।