काठमाडौं महानगरपालिकाभित्रका होटलहरूले घरजग्गा तथा सम्पत्ति करमा ७५ प्रतिशत छुट पाउने भएका छन्।
होटल संघ नेपाल (हान)को मागअनुसार काठमाडौं महानगरपालिकाको नगरसभाले महानगरभित्रका होटलबाट घरजग्गा तथा सम्पत्ति करमा २५ प्रतिशतमात्रै कर लिने निर्णय गरेको हो।
नेपाल भिजिट २०२० लाई लक्षित गरी महानगर र होटल संघ नेपालको समन्वयमा आर्थिक वर्ष ०७६/०७७ मा महानगरभित्रका होटललाई करमा छुट दिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।
‘७५ प्रतिशत छुट दिएको रकम होटल व्यवसायीहरूले छुट्टै जम्मा गर्नुपर्नेछ। उक्त रकम उनीहरुले पर्यटन प्रवर्द्धनमा नै लगानी गर्नुपर्छ,’ डंगोल भने।
हानमा आवद्ध भएका होटलहरूले यस्तो छुट पाउनेछन्। हानमा पाँचतारेदेखि सामान्य खालका गरी महानगरभित्रका तीन सय बढी होटल आवद्ध छन्।
राजश्व ऐन २०७५ ले होटल सम्पत्तिमा उच्च कर लगाएको भन्दै होटल संघले कर छुटको माग राख्दै आएका थिए। होटल व्यवसायीको माग र नजिकिँदै गरेको भ्रमण वर्षलाई मध्यनजर गर्दै कर छुटको सुविधा दिएको प्रवक्ता डंगोलको भनाइ छ।
'होटल संघले पहिलादेखि सम्पत्ति करमा छुट दिनुपर्ने माग राख्दै आएका थिए। यसलाई सम्बोधन गर्दै महानगरले नगरसभाबाटै करमा छुट पारित गरेको छ,' प्रवक्ता डङ्गोलले भने। यसले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याउने उनको दाबी छ।
काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार घरजग्गा/सम्पत्तिमा कर तोक्ने अधिकार प्राप्त गरेको हो।