वर्षेनी दसैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ। वायुसेवा प्रदायक कम्पनीले दसैं आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन्।
यही बहानामा दसैंको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन्। महँगो टिकटसमेत पाउन यात्रुलाई मुश्किल हुन्छ।
हरेक वर्ष दसैं आउनासाथ राजधानी काठमाडौंलाई कर्मथलो बनाएका लाखौं नागरिक घर जाने चटारोमा हुन्छन्। यात्रुका लागि घर फर्कन दुई विकल्प छन्।
हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ-आफ्नो गन्तव्यतर्फ लाग्छन्। विगत झैं यस वर्ष पनि दसैंमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ।
सबैजसो वायुसेवा कम्पनीले दसैंको टिकट सकिएको बताएका छन्। यात्रुले महँगो शुल्क तिरेर पनि टिकट पाउन सकेका छैनन्।
वायुसेवा कम्पनीले दसैंको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाई भाडा बढाउँदै आएका छन्।
सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ। महँगो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन्।
उनीहरूले दसैंमा हरेक वर्ष पीडा भोग्नुपर्छ। अहिले पनि दसैंका लागि हवाई जहाजको टिकट पाउन कठिन भएको छ। पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ।
पोखरा जान सामान्य अवस्थामा रु एक हजार ८०० सम्म भाडा तिर्नुपर्छ। अहिले दसैंमा रु पाँच हजारभन्दा बढी भाडा तिर्नुपरेको छ।
यस्तै विराटनगरका लागि हवाई भाडा अन्य बेला रु तीन हजार २०० सम्म पर्छ।
यात्रुले अहिले रु सात हजारभन्दा बढी भाडा तिर्दै आएका छन्। धनगढी र नेपालगञ्ज गन्तव्यमा जान ठिक्क परेका एक यात्रुले भने, ‘वायुसेवा कम्पनीलाई अहिले दसैं लागेको छ, बसको टिकट पाउन नसकेपछि रु आठ हजार तिरेर जहाजको टिकट किनें।’
अहिले यात्रुले धनगढीका लागि रु १२ हजारभन्दा बढी भाडा तिर्नु परिरहेको छ।
नेपाल वायुसेवा निगमको जहाजमा भने धनगढीका लागि रु पाँच हजार ७०० मा टिकट खरिद गरेको अर्का एक यात्रुले बताए।
निगमले आफ्नो नियमित भाडादरमै गन्तव्यमा उडान भर्दै आएको छ।
निगमका सहायक प्रवक्ता सुलेख मिश्रले दसैंमा पनि निगमले नियमित भाडादरमै टिकट विक्री गरिरहेको जानकारी दिए।
यात्रुलाई मात्र हैन वायुसेवा कम्पनीलाई पनि कम्ती चुनौती छैन। भाडा बढाएरै भए पनि उडान व्यवस्थापन र मागअनुसारको सेवा दिन दसैंका बेला हम्मेहम्मे पर्छ।
एक वायुसेवा कम्पनीका सञ्चालकले भने, ‘हामीलाई दसैंमा सधैं भाडा बढायो भन्ने आरोप लाग्छ, हाम्रो बाध्यता कसैले बुझ्दैनन्। सस्तो, महँगोको त कुरै छैन, टिकट पाउन कठिन छ, वायुयानको विविध खर्चको कुरा गरी साध्य छैन।’ (रासस)