यस आर्थिक वर्षको साउन र भदौ महिनामा नेपालको निर्यात करिब २६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा निर्यात २५. ९ प्रतिशतले बढेको हो।
निर्यातमा उल्लेख्य सुधार आउँदा आयात भने १. २ प्रतिशतले घटेको छ। तथ्यांकअनुसार दुई महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको बस्तु आयात भएको छ भने १८ अर्ब २५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ।
भारतमा हुने निर्यात सबैभन्दा बढी ४६ प्रतिशतले बढेको छ। पाम तेल, अलैंची, जुटका सामान, धागो कपडा लगायतका बस्तुको निर्यात बढेको छ।
दुई महिनामा खासगरी पेट्रोलियम पदार्थ, पशुपंक्षी, चामल, सवारीसाधन र तिनका पार्टपूर्जाको आयात घटेको छ।
साउन र भदौमा रकमका आधारमा पेट्रोलियम पदार्थको आयात ८ प्रतिशतले घटेको छ। यस अवधिमा २८ अर्ब ४६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ।
जवकि गत वर्षको यस अवधिमा ३० अर्ब ९४ करोडको आयात भएको थियो। मुलुकमा आयात हुने बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ।
त्यस्तै जिउँदो पशुपंक्षीको आयात एक सय प्रतिशतले घटेको छ भने चामलको आयात २५ प्रतिशतले घटेको छ। गाडी तथा स्पेयर पार्टस्को आयात ९ प्रतिशतले घटेको छ।
आयात घट्नु र निर्यात बढ्नुले व्यापार घाटामा सुधार देखिएको छ। अर्थात व्यापार घाटा गत आर्थिक वर्षको सोही दुई महिनाको तुलनामा ३. १ प्रतिशतले घटेको छ।
दुई महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ छ। गत वर्षको यसै अवधिको तुलनामा यो ३. १ प्रतिशतले कमी हो।
गत वर्षको यस अवधिमा निर्यात जम्मा ८ प्रतिशतले बढेको थियो भने आयात ३८ प्रतिशतले बढेको थियो।
मुलुकको व्यापार घाटामा आएको सुधारसँगै भुक्तानी सन्तुलन समेत सकारात्मक बनेको छ। दुई महिनामा मुलुकको भुक्तानी सन्तुलन ८ अर्ब ८३ करोडले बचतमा छ। गत वर्षको यस अवधिमा २५ अर्ब ४५ करोडले नोक्सानीमा थियो।
मुलुकमा भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थिति अर्थात भुक्तानी सन्तुलन भन्ने गरिन्छ।