नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन 'क्यूएफएक्स'ले भक्तपुरको राधेराधेमा रहेको भाटभटेनी सुपरमार्केटमा नयाँ फ्रान्चाइज सुरू गरेको छ।
बिहीबार 'घामड शेरे' सिनेमाको प्रिमियर गर्दै सो मल्टिप्लेक्स संचालनमा आएको हो।
यस मल्टिप्लेक्समा ३ वटा पर्दा रहेका छन् जसको कुल सिट क्षमता ६९८ रहेको छ। ३ वटा पर्दा मध्ये दुई पर्दाको सिट संख्या २४६-२४६ र एउटाको २०६ रहेको छ।
क्यूएफएक्सका सिईओ रोशन अडिगाका अनुसार यस मल्टीप्लेक्समा दर्शकहरूले एटमस साउण्ड सिस्टममा सिनेमाको मज्जा लिन पाउने बताए।
यी हलहरूमा बेल्जियन प्रविधिमा आधारित क्रिस्टी प्रोजेक्सन राखिएको छ।
यो मल्टीप्लेक्स संचालनमा आएसँगै क्यूएफक्सको फ्रान्चाइज संख्या १० पुगेको छ जसमध्ये ६ वटा काठमाडौमा रहेका छन् भने बाँकी ४ काठमाडौं बाहिर रहेको छ।
सिईओ अडिगाका अनुसार क्यूएफएक्सले अर्को एक महिनाभित्र बुटवल र विराटनगरमा दुई मल्टिप्लेक्स संचालन गर्ने जनाएको छ।
दुबै शहरमा संचालन हुने मल्टीप्लेक्समा समान दुई-दुई पर्दा हुनेछन्।