सरकारले लकडाउन गरेपछि सोमबार राति अबेरसम्म काठमाडौंका डिपार्टमेन्टल स्टोरहरु खुला रहे। आज बिहान ६ बजेदेखि बजार पसल सबै बन्द हुने भनिएपछि उपभोक्ताको भीड त्यस्ता स्टोरहरुमा लाग्यो।
उपत्यकाका कतिपय त्यस्ता स्टोरहरु राति १२ बजेसम्म खुलेका थिए।
उपभोक्ता त्यो भीड देखेर कतिपय खाद्यन्न वितरकहरुले अभाव सिर्जना गरी कालोबजार हुने आशंका गरेपछि सरकारले त्यसको बिकल्प खोज्ने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले उपभोक्ताका दैनिक आवस्यक वस्तुको सहज आपूर्तिका लागि निजी क्षेत्रका ठूला डिपार्टमेन्ल स्टोरहरु,सरकार मातहतको साल्ट ट्रेडिङ,खाद्यन्न वितरणमा काम गर्ने अन्य सरकारी संस्थाहरुलाई निश्चित माध्यम र समय मिलाएर अनुरोध गर्ने निर्णय गरेको छ।
काम गर्ने कर्मचारी तथा उपभोक्तालाई पूर्ण सुरक्षाका उपाया प्रयोग गरी नियन्त्रित वातावरणमा त्यस्ता स्टोरबाट आपूर्ति खुला गर्ने बारे मन्त्रालयले निर्णय गरेको छ।
मन्त्रालयले उपभोक्तालाई अनलाई अर्डर लिएर डेलिभरीको व्यवस्था मिलाउन पनि त्यस्ता स्टोरहरुलाई भनेको छ।
सरकारले अनलाई अर्डर लिएर डेलिभरी दिन भनेपनि यो काम तत्काल सम्भव नहुने स्टोरहरुले प्रतिक्रिया दिएका छन्। नेपालकै ठूलो स्टोर भाटभटेनीले बरु निश्चित शाखा खोल्न सकिने तर अनलाइनका लागि तत्कालै काम गर्न कठिन हुने जनाएको छ।
अनलाईन सेवाका लागि पहिलो कुरा क्यास नै कारोबार गर्ने हो भने त्यसले अर्को संक्रमणको जोखिम बढाउने र अर्कोतिर सम्पर्क बिहिन भुक्तानी तत्काल सबैतिर पुर्याउन नसकिने बताइएको छ।
'हामी सरकारले भन्छ भने काठमाडौंका मुख्य ठाउँमा त्यस्ता स्टोर खोल्न सक्छौ। बरु त्यसमा व्यवस्थापन गर्न सकिन्छ। तर अनलाइनका लागि कठिन छ। डेलिभरीका लागि सवारी तथा मान्छे पाइदैन। आजको भोलि यस्तो व्यवस्थापन कठिन काम हो' भाटभटेनकी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु डी पौडेलले भने।
पौडेलले भाटभटेनी सरकारले अनुमति दिए काठमाडौंका केही शाखा पुन: सञ्चालन गर्न तयार भएको बताए।
त्यस्तै सेलवेजले पनि सरकारी अनुमति पाए आफ्नो सेवा सुचारु गर्न तयार भएको बताएको छ।
सरकारले सेवा सञ्चालनको अनुति दिएमा उच्च सावधानीमा काम गर्न सकिने सेलवेजका म्यानेजर भुवन अधिकारीले बताए।
'संसारका अन्य देशमा पनि लकडाउन भएको छ। त्यहाँ पनि डिपार्टमेन्टल स्टोरहरु खुला छन्। सावधानीसहति कसरी सञ्चालन गर्ने भन्ने बेस्ट प्राक्टिस पनि छन्। हामी त्यसैगरी सञ्चालन गर्न तयार छौ' अधिकारीले भने।