लगातार १३ दिनदेखिको लकडाउनका कारण दाना नपाउँदा पालेका कुखुराले आफ्नै साथीहरुलाई टोकेर खान थालेको कृषकले बताएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ जहदा गाउँमा ब्रोईरल पाल्दै आएका राजेन्द्र पोखरेलले दानाको अभावमा भोका कुखुराले आफ्नै साथीहरुलाई टोकेर रगताम्मे बनाउन थालेको बताए।
‘दाना नपाएपछि भोकले कुखुराले कुखुरा नै टोकेर खान थाल्यो,’ पोखरेलले भने ‘दानाको अभावमा कुखुरा मर्ने अवस्थामा पुगेका छन्।’
गत चैत १७ गते तुलसीपुर उपमहानगरपालिकामा सप्लार्य र किसानका बीचमा चल्ला र दाना उपलब्ध गराउने सहमति भएको थियो।
सप्लायर्सले उक्त सहमति कार्यान्वयन नगरेको हुँदा समस्या उत्पन्न भएको पोखरेलले जानकरी दिए ।
आफुहरुसंग सप्लार्यले पैसा नभएको तथा पैंशा नदिएसम्म कम्पनीले दाना दिन नसकेको भन्दै सहमति विपरित किसानलाई दाना उपलब्ध गराउन छोडेको किसानको आरोप छ।
किसान सरोकार मञ्च दाङका पूर्व अध्यक्ष विष्णुप्रशाद न्यौपानेले सप्लायर्सको बदमासीले कुखुरा पालक किसान समस्यामा परेको तर्क गरे।
किसान र सप्लार्यका बीचमा बच्चा, दाना उधारोमा दिने र मार्केटिङ गरिदिने सहमति भएपछि यस्तो अफ्ठेरोमा सप्लायर्सले बदमासी गर्न नहुने उनले बताए।
ब्रोइलर कुखुरा ४५ दिन भन्दा बढी समय पालेमा झनै घाटा लाग्ने हुँदा कतिपय किसानले तयारी अवस्थाका कुखुरा दोब्बर कम मुल्यमा विक्रि गर्न थालेको उनले जानकारी दिए।
न्यौपानेले भने ‘कि अब सरकारले कतै लगेर गाड्नु पर्याे नभए किसानसँग गरेको सहमतिअनुसार दाना पाउनु पर्छ।’ विपदको समयमा कसैले साथ नदिए किसानलाई ठूलो मर्का पर्ने उनले चिन्ता व्यक्त गरे।