प्युठानका सुशील भुसाल विदेश जाने सोच बनाएर काठमाडौं आए। केही म्यानपावर कम्पनी धाए।
तर, गाउँका केही व्यक्तिले उनलाई विदेश जानुभन्दा कुखुरा पालन व्यवसाय गर्न सल्लाह दिए।
‘गाउँमा २–३ सय वटा कुखुरा पालेको पनि थिएँ। केही ज्ञान भएको कारण त्यही व्यवसाय गर्न ठिक लाग्यो,’ उनले सेतोपाटीसँग भने।
उनले गाउँकै २ जना साथी खोजे। एक जना उनीजस्तै विदेश जान लागेका थिए र अर्का जना भारतमा रोजगार गरेर फर्केका थिए।
‘हामी ३ जना मिलेर ऋण गरेर कीर्तिपुरमा ८ लाखमा खोर किन्यौं र ३ लाख डिपोजिट गरेर चल्ला, दाना लगायतका आवश्यक सामान ल्यायौं,’ उनले भने।
२ लटसम्म रोटेसन मिलेकै थियो। तेस्रो लट पनि तयार हुँदै थियो। यही बेलामा कोरोना कहर फैलियो।
‘बोइलर कुखुरा ४२ देखि ४५ दिनसम्म बेच्नुपर्छ। मेरो कुखुरा ४५ दिन भइसक्यो बेच्न पाएको छैन,’ उनले भने, ‘सप्लायर्सले पनि बेच्न सकेका छैनन्। ३ गते मात्र उठउँछौ भनेका छन्।
समय पुगेका कुखुरा खोरमै राख्दा अत्याधिक दाना खाने र घाटा बढ्दै जाने उनले बताए।
दानाको अभावको कारण कुखुरालाई थोरै–थोरै मात्र खुवाउनु परेको छ।
‘सप्लायर्सले कुखुरा बेच्न मात्र होइन दाना पुर्याउन पनि सकेका छैनन्,’ उनले भने, ‘एउटा साथी लकडाउनपछि भारत नै फर्कने भन्दै छ। मलाई पनि उही बेला विदेश नै गएको भए ठिक हुन्थ्यो जस्तो लागेको छ।’
अहिले ऋणको ब्याज समेत तिर्न नसकेको उनको गुनासो छ।
‘साहुहरुको सधैं फोन आउँछ। रात भर निद्रा पनि पर्दैन,’ उनले भने।
अहिले धेरैजसो कुखुरापलक किसानको हालत यस्तै भएको उनले सुनाए। यस्ता साना किसानको लागि सरकारले केही व्यवस्था गर्नुपर्ने सुशील सुझाउँछन्।
‘हामी नेपालमै केही गर्छौं भनेर लागेका किसानको लागि सरकारले हेर्नुपर्छ। लगानीको सुरक्षा हुँदैन भने कसरी काम गर्न सकिन्छ र,’ उनले भने।