सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाईन मार्फत् ३५ सय क्वीन्टल चामल र २ क्वीन्टल सिमी बेचेको छ। कम्पनीकाअनुसार ६० जना उपभोक्ताको मागअनुसार सोना चामल १४, जापानिज २१ र सिमी २ क्वीन्टल बेचेको हो।
अनलाइन कारोबारमा शुरूवातमा केही समस्या भएपनि अहिले सहज भएको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदी बताउँछिन्।
‘सुरूमा त अर्डरको रूट मिलाउन गाह्रो भएर डेलिभरी गर्न असहज भएको थियो, अहिले त अर्डर गरेको भोलिपल्टै डेलिभरी गरिरहेका छौं,’ उनले भनिन्।
उनकाअनुसार उपभोक्ताले सामान अर्डर गरेपछि खल्ती तथा इसेवाबाट पैसा तिर्नुपर्ने हुन्छ। कम्पनीले नगद कारोबार भने गरेको छैन।
अनलाइनमा सोचेभन्दा बढी उपभोक्ताको अर्डर आएको उनी बताउँछिन्। अहिले कम्पनीले काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको छ।
कम्पनीले एकहप्ता अघिदेखि होम डेलिभरीको सेवा सुरू गरेको हो। उपभोक्ताले होम डेलिभरीका लागि नेपालफुड डटकम अनलाइनमार्फत अर्डर दिन सक्नेछन्। कम्पनीले बिक्रीका लागि चामल र सिमी राखेको छ।
सरकारी कम्पनीले होम डेलिभरीको सेवा पहिलो पटक गरेको हो। यसअघि खाद्य कम्पनी र सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनले घुम्ती सेवामार्फत खाद्यान्न टोल–टोलमा बिक्री गर्दै आएका छन्।