निजी क्षेत्रको वायुसेवा सञ्चालक श्री एयरलाइन्सले कार्गो उडानको अनुमति पाएको छ। श्रीसँग भएका जेट इन्जिन जहाजबाट अन्तर्राष्ट्रिय कार्गो उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो।
बाम्बार्डियरका सिआरजे-७०० र सिआरजे-२०० जहाजबाट एसिया प्रासान्त क्षेत्रबाट कार्गो उडान गर्नका लागि एयरलाइन्सले अनुमति पाएको हो।
हेलिकप्टर उडानका लागि अन्तर्राष्ट्रिय उडान अनुमतिपत्र पाएको भएपनि एयरलाइन्सले फिक्स्ड विङका यात्रुबाहक जहाज सञ्चालनका लागि अन्तर्राष्ट्रिय उडान अनुमति भने पाएको छैन।
यात्रुबाहक उडानका लागि अनुमतिको प्रक्रिया चलिरहेको र कार्गो उडानका लागि भने अनुमति पाइएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। श्रीले आफूसँग भएका सिआरजे-७०० र सिआरजे-२०० मोडलका चार जहाजबाट तत्काल यो उडान गर्नसक्ने छ।
अनुमति पाउनेवित्तिकै श्रीले सिंगापुर कार्गो उडान गर्ने भएको छ। उसले यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ। नेपाल सरकारलाई अनुदानमा प्राप्त भएका कोरोना परीक्षण किट ल्याउनका लागि श्रीले भोलि उडान गर्ने तयारी गरिरहेको छ।
सिंगापुरको टेमसेक फाउन्डेसनले नेपाल सरकारलाई अनुदानमा दिएका १० हजार पिसिआर रिजेन्ट ल्याउनका लागि श्रीको जहाज भोलि सिंगापुर जाने छ।
'अहिलेसम्मको तयारीअनुसार भोलि उडान गर्ने भन्ने छ।सम्मवत भोलि उडान गर्छौ होला' श्रीका प्रवक्ता मानन्धरले भने।
फाउन्डेशनले नेपाललाई अनुदान दिने यी रिजेन्ट नेपाल ल्याउनका लागि श्रीले ३३ प्रतिशत भाडा आफै बेहोर्ने जानकारी गराएको छ। त्यस्तै बाँकी भाडा शेखर गोल्छा र पशुपति मुरारकाले बेहोर्ने भएका छन्।
अनुदानको किट नेपाल ल्याउनकै लागिमात्र तीन हप्ता लागेको छ। अप्रिल ३ मै फाउन्डेशनले नेपाल सरकारलाई पत्र पठाएको थियो। सरकारले ल्याउनका लागि चासो नदिएपछि व्यवसायी रञ्जित आचार्यले अनुमति तथा भाडाका लागि पहल गरेका थिए।
सँगै अनुदान पाएको भुटानले भने यसअघि नै रिजेन्ट लिइसकेको छ।