राइड सेयर कम्पनी पठाओले अत्यावश्यक सामग्री ढुवानी गर्न सुरू गरेको छ। अनलाइन सपिङ ‘इन्फी स्टोर’ सगँको सहकार्यमा पठाओले होम डेलिभरी सुरु गरेको हो।
हाल कम्पनीले खाद्यान्न, औषधि, बेकरी, दुग्ध उत्पादन, मासु, बेबी प्रोडक्ट लगायतका सामाग्री ढुवानी गर्ने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिहं बस्न्यातले जानकारी दिए।
‘हामीलाई इन्फी स्टोरले यहाँबाट सामान लिएर यहाँ डेलिभरी गर्ने भनेर जानकारी दिन्छ। हामी उक्त सामान अफिसमा ल्याएर बकेटमा हालेर कार्गो भ्यानको मद्धतले घर–घरमा पुर्याउँछौं,’ उनले सेतोपाटीसगँ भने।
डेलिभरी सेवा सकेसम्म द्रुत गतीमा गरिने बस्न्यातको दावी छ।
‘इन्फी स्टोरले हामीलाई बेलुका ५ बजे कहाँबाट सामान उठाउने र कहाँ डेलिभरी गर्ने जानकारी दिन्छ। भोलिपल्ट १/२ बजेसम्म हामी सामान डेलिभरी गरिसक्छौ,’ उनले सेतोपाटीसगँ भने।
उनका अनुसार रोगको संक्रमण नफैलियोस भनेर कम्पनीले चालक तथा डेलिभरी गर्ने स्टाफलाई पिपिई, मास्क, ग्लब्स, सेनिटाइजर प्रयोग गर्न अनिवार्य गरेको छ।त्यस्तै डेलिभरी भइसकेपछि ती स्टाफलाई सेनिटाइज गरेर, सामान राखेको बकेटलाई क्लोरिन पानीले धोएर मात्र अफिस भित्र लैजाने गरेको बस्न्यातले बताए।
यो सेवा प्रयोग गर्न इन्फी स्टोरको वेवसाइटमा गएर अर्डर गर्न सकिने छ।चक्रपथ भित्र रहेको यो सेवा प्रयोग गरेबापत १ सय ५० रुपैयाँ डेलिभरी चार्ज लाग्ने उनले जानकारी दिए।
सामानको भुक्तानीको लागि कम्पनीले खल्ती एप, फोन पे र क्यास अन डेलिभरीको ब्यवस्था गरेको छ।