चाबहिलस्थित केएल टावर व्यापारिक कम्प्लेक्सले व्यवसायीहरुलाई भाडा छुट दिएको छ। मलले चैत र वैसाख महिनाको पूरा भाडा छुट दिएको म्यानेजर रमेश कक्षपतीले जानकारी दिए।
उनका अनुसार जेठदेखि असोजसम्मको भाडा भने ५० प्रतिशत छुट दिइएको छ।
कोरोना महामारीले व्यवसायीहरुलाई समस्यामा पारेको ध्यानमा राखेर भाडा छुट दिएको कक्षपतीले जानकारी दिए।
‘यतिबेला सबै व्यवसायीलाई आर्थिक समस्याले सताएको छ। व्यापार नहुँदा हाम्रा व्यवसायीलाई समस्या परेको हामीले बुझ्यौं,’ सेतोपाटीसँग कुराकानी गर्दै कक्षपतीले भने, ‘आगामी दिनमा पनि परिस्थिति हेरेर के गर्न सकिन्छ, विचार गर्ने छौं।’
केएल टावर व्यवसायीहरुका मागका आधारमा छुट व्यवस्था गरेको कक्षपतीले बताए। उनका अनुसार मलमा ६० वटा सटर र ३ वटा फिल्म हल संचालित छन्।
जसबाट मलले मासिक करिब ६० लाख भाडा संकलन गर्दै आएको थियो। कक्षपतीका अनुसार साढे २ करोड बढी रकम व्यापारीलाई छुट दिइएको छ।
‘हाम्रो आम्दानीको श्रोत पनि मल संचालन नै हो। तर व्यवसायी भएकै कारण हामी छौं,’ उनले भने, ‘अप्ठ्यारो परेका बेला मिलेर अघि बढौं भन्ने मनसाय हो।’