अघिल्लो वर्ष नेपालको आर्थिक बृद्धिदर ६.३ प्रतिशत रहेको सरकारले संसोधित अनुमान गरेको छ। गत वर्षको बजेटको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अर्थ मन्त्रालयले उक्त संसोधित अनुमान गरेको छ। यसअघि सरकारले अघिल्लो वर्ष ५.९ प्रतिशतले बढेको अनुमान गरेको थियो।
२०७३÷०७४ मा ७.९ प्रतिशतले बढेको मुलुकको कूल ग्राहस्थ उत्पादन अघिल्लो वर्ष ६.३ प्रतिशतले विस्तार भएको मन्त्रालयले उल्लेख गरेको छ। अघिल्लो वर्ष २०
६१÷०६२ पछिको न्यून मूल्य बृद्धि कायम भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार उपभोक्ता मूल्यबृद्धि ४.२ मा सिमित भएको छ।
विश्व बैंकले अघिल्लो वर्ष नेपालको आर्थिक बृद्धिदर ६.३ प्रतिशतले भएको अनुमान गरेको थियो।
२० प्रतिशतले राजस्व बढेर ७ खर्ब ३२ अर्ब २३ करोड संकलन भएको मन्त्रालयले जानकारी दिएको छ। लक्ष्यभन्दा २ अर्ब बढी राजस्व संकलन भएको हो।
३८ प्रतिशतले बढेर ६ खर्ब ९६ अर्ब ९२ करोड चालु खर्च भएको उक्त वर्षमा २ खर्ब ७० अर्ब पुँजीगत खर्च भएको छ।
खर्च शिर्षकमा कर्मचारीको तलबमा ८५ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ। यस्तै स्थानीय भत्तामा ९८ करोड र महंगी भत्ता बापत ३ अर्ब ४ करोड खर्च भएको छ।
फिल्ड भत्ताको नाममा ११ करोड खर्चिएको सरकारले अन्य भत्तामा ४ अर्ब ८४ करोड रुपैयाँ खर्चिएको छ।
अघिल्लो वर्ष सरकारले औषधि उपचारको नाममा ३९ करोड रुपैयाँ खर्च गरेको छ। विभिन्न उच्चपदस्थ तथा कर्मचारीको उपचारमा यस्तो रकम खर्च हुन्छ।
गएको वर्ष सरकारले घरभाडा बापत १ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ भने इन्धनमा २ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ। इन्धन शिर्षकमै सरकारले अर्को २० करोड खर्चिएको छ।
कार्यक्रम शिर्षकमै सरकारले १२ अर्ब ५४ करोड खर्च गरेको छ। अनुगमन तथा मूल्यांकनको नाममा १ अर्ब ६३ करोड खर्च गरेको सरकारले ३ अर्ब २६करोड रुपैयाँ भ्रमणमा खर्चिएको छ। त्यस्तै अति विशिष्ट व्यक्ती तथा प्रतिनिधि मण्डलको भ्रमणमा ४ करोड ४६ लाख खर्च भएको छ।
वैदेशिक र आन्तरिक ऋणको ब्याजमात्र सरकारले १६ अर्ब भुक्तानी गरेको छ।
गएको वर्ष सरकारले २८ अर्ब ९३ करोड रुपैयाँको जग्गा खरिद गरेको छ भने ३५ अर्ब ७३ करोड रुपैयाँको भवन निर्माण गरेको छ। त्यस्तै सरकारले ८८ करोड रुपैयाँको भवन खरिद गरेको छ। सरकारले फर्निचरजन्य सामग्रीमात्र १ अर्ब रुपैयाँको खरिद गरेको छ। सरकारले ६ अर्ब ६१ करोड रुपैयाँको सवारीसाधन किनेको छ।
अघिल्लो वर्ष देशभर कूल १ खर्ब ७० अर्बको सार्वजनिक निर्माण भएको छ।